काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय झ्याप झ्याप्प बत्ती जाने सरकारको आयुको सङ्केत हो भन्दै प्रश्न गरेकी छन् ।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद राईले पछिल्लो समय लाइन काटिएको विषय उठाउँदै सरकारको आयुको सङ्केतसँग तुलना गरेकी हुन् । झ्याप्प–झ्याप्प बत्ती जानुको अर्थ सरकारको आयुसँग जोडिएको उनको टिप्पणी छ । उनले पछिल्लो समय बत्ती जाने र आउने क्रमबाट नागरिक रूष्ट रहेको बताइन् ।
जसकारण पनि सरकारको बिरोध भइरहेको उनको भनाइ छ । उनले माओवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियानको सफलताको शुभकामना समेत व्यक्त गरिन् । सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गतको भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझे च्यानडाँडा खण्डमा पर्ने १० किलोमिटर सडक लामो समयदेखि अलपत्र रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।


