काठमाडौं । खानेतेल निर्यातमा भन्सार सहुलियत र अग्रिम भुक्तानी सुविधिाले निर्यात व्यापार ७३ प्रतिशतले बढेको छ ।
सोयाबिन तेल, सूर्यमूखी तेल, गलैँचा र अलैँचीले निर्यात व्यापार बढाइदिएको छ ।
चालु आर्थिक वर्षको १० महिनामा २ खर्ब १७ अर्ब ९१ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । यो निर्यात रकम हालसम्मको धेरै हो । गत आर्थिक वर्षको १० महिनाा १ खर्ब २६ अर्ब १७ करोडको वस्तु निर्यात भएको थियो ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार २०८१÷८२ को १० महिनामा ७८ अर्ब ७५ करोड ७० लाख ४४ हजारको सोयोबिन तेल, १० अर्ब ९ करोड ४९ लाख ५८ हजारको सूर्यमुखी तेल, ८ अर्ब ८४ करोड ७० लाख ६३ हजारको गलैँचा र ६ अर्ब ६७ करोड २२ लाख १४ हजारको अलैँची निर्यात भएको छ ।
१० महिनाको अवधिमा ७८ अर्ब ७५ करोड ६६ लाखको सोयाबिन तेल भारत निर्यात भएको छ । सूर्यमूखी तेल १० अर्ब ९ करोड ४९ लाख, ८३ करोड २७ लाखको गलैँचा र ६ अर्ब ६६ करोड २५ लाखको अलैँची भारत निर्यात भएको छ । तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याई सोयाबिन तेल, सूर्यमुखी तेल र गलैँचा निर्यात गरिएको पाईन्छ भने अलैँची, चिया भने पूर्ण रुपमा नेपालमा उत्पादित सामग्री हुन् । यसका साथै फेल्ट, चिया, कुकुर–बिरालाको आहारा पनि स्वेदशमा उत्पादन भएका हुन् । चियाको माग भने पछिल्लो समय बढेको अर्थविद् केशव आचार्य बताउँछन् । ‘नेपाली चिया चीनमा समेत निर्यात हुने गरेको छ,’ उनले भने,‘ हाम्रो वातावरण र चियाको स्वादको कारणले गर्दा चीनमा नेपाली चिया मनपराउनेको संख्या बढ्दै जाँदा निर्यात बढेको हो ।’
१० महिनाको अवधिमा ४ अर्ब ७९ करोड ४२ लाख २८ हजारको फलाम तथा स्टीलजन्य सामग्री निर्यात भएको छ । आयातित फलाममा भ्यालूएड गरेर पुनः निर्यात गर्ने गरेको पाईन्छ ।
१० महिनामा ४ अर्ब ५५ करोड ५५ लाख ५८ हजारको जुट, चार अर्ब ५२ करोड ७३ लाख २१ हजारको जुसजन्य पदार्थ, ४ अर्ब ४४ करोड एक लाख ५९ हजारको यार्न, ३ अर्ब ८२ करोड २७ लाख ७७ हजारको फेल्ट, ३ अर्ब ६९ करोड ६१ लाख ७४ हजारको चिया र ३ अर्ब ४९ करोड १२ लाख कुकुर र बिरालो आहार निर्यात भएको छ ।
हाम्रो निर्यात अझै बढ्न सक्छ यदि हामीले गुणस्तरमा ध्यान दिने हो भने आचार्यले भने । ‘हामीले पहिला गुणस्तरीय उत्पादन गर्नुपर्छ त्यसपछि मार्केटिङ नेटवर्किङको विषयमा ध्यान दिनुपर्छ,’ उनले भने,‘ विदेशस्थित नियोग छन्, वाणिज्य दूतवासहरु रहेका छन् उनीहरुमार्फत् व्यापार अभिवृद्धिका लागि थप मेहनत गर्न सक्छौं ।’ सरकारले पनि नेपाल व्यापार एकीकृत रणनीति (एनटीआईएस) तेस्रो पटक परिमार्जन गरेको छ । तर पनि यसको पर्याप्त फाइदा लिन नसकिएको जानकार बताउँछन् ।
१० महिनाको आयात व्यापार पनि १३.११ प्रतिशतले बढेको छ । चालू आवको वैशाख मसान्तसम्म १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजारको आयात व्यापार रहेको छ । गत आवको सोही अवधिमा १३ खर्ब तीन अर्ब ३५ करोड ७० लाख ३९ हजार आयात व्यापार रहेको थियो । निर्यात व्यापारजस्तै आयात व्यापारमा आयात गरिने सामग्रीहरू पनि पुरानैले निरन्तरता पाएको पाईन्छ ।
आयात गरिने मुख्य सामग्रीहरूमा पेट्रोलियम पदार्थ, सवारीसाधान, फलाम, कच्चा सूर्यमुखी, भटमास, सुन, मोबाइललगायतका कृषि सामग्री तथा भान्सामा दैनिक प्रयोग हुने सामान्य सामग्री समेतको उच्च आयात हुनेगरेको छ ।
१० महिनाको अवधिमा ४५ अर्ब ६२ करोड ९१ लाख ६१ हजारको डिजेल, ३४ अर्ब ६९ करोड ९० लाख ६३ हजारको पेट्रोल, ९ अर्ब ६६ करोड ४४ लाख ८५ हजारको खाना पकाउने ग्यास (एलपीजी) र ८ अर्ब ८० करोड ३१ लाख ८१ हजारको विद्युतीय सवारीसाधन, छ अर्ब ५७ करोड २० लाख ६० हजारको पेट्रोलियम सवारीसाधन आयात भएको छ । सोही अवधिमा ५ अर्ब ४१ करोड ३२ लाख ५० हजारको मोटरसाइकलका पार्टपुर्जा, ५ अर्ब ३६ करोड २९ लाख ४५ हजार मोबाइल, ४ अर्ब १७ करोड ६५ लाख ५९ हजारको कच्चा फलाम तथा स्टीलजन्य सामग्री, ३ अर्ब ४५ करोड ४६ लाख ३५ हजार कच्चा सूर्यमुखी र ३ अर्ब ६ करोड २२ लाख ९८ हजार भटमासको आयात भएको छ ।
पेट्रोलियम पदार्थको आयातको लागि पूर्णरूपमा भारतमा निर्भर रहेका छौँ भने चीनबाट विद्युतीय सामग्री, कपडा र फलफूललगायतका सामग्रीमा उच्च निर्भर रहेका छौँ । यसको अतिरिक्त यातायातका साधन र यसका पार्टपुर्जा, सिमेन्ट, फलामे छड र औषधिका आयात पनि बढेको कारण भारतसँगको व्यापारघाटा पनि बढेको विभागका निर्देशक एवं सूचना अधिकारी नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

