पर्वत । पर्वतको मोदी गाउँपालिकाका गाउँपालिका–४ क्याङ र वडा नं ५ बाजुङ दुई वडालाई जोड्न लिस्तुनखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । दुवै वडाको सिमानामा रहेको लिस्तुनखोलामा झोलुङ्गे पुल बनाइएको हो ।
पुलको लम्बाइ ७० मिटर लामो रहेको छ । मोदी गाउँपालिकाको पाँच लाख ४२ हजार ३५० र एसडब्लुएपी (स्वाप)को ३५ लाख ४६ हजार १३८ तथा उपभोक्ताको श्रमदान ८३ हजार ४३८ गरी कुल रु. ४१ लाख ७१ हजार ९२७ को लागतमा पुल निर्माण भएको हो ।
स्वाप कार्यक्रम नेपालको सहयोगमा बनेको पुल निर्माणका लागि पर्वतको खुर्कोट युवा क्लबले प्राविधिक सहयोग गरेको थियो । मोदी गाउँपालिकाले छ महिनामै पुल निर्माणसम्पन्न गरेर सोमबारदेखि सञ्चालन गरिएको जनाएको छ ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चामबहादुर पुनले पुल निर्माणपछि बाजुङ र क्याङका बासिन्दालाई आवतजावतमा सहज भएको जानकारी दिए । उनका अनुसार दुवै वडाका हजारौँ बासिन्दाका साथै पर्यटकीय गाउँ लेसपार हुँदै हप्पाल, माटेको लेक, मोहोरेडाँडा, पुनहिल जाने पर्यटकका लागिसमेत सहज भएको छ ।
यहाँका स्थानीयले पुल नुहँदा हिउँदमा अस्थायी फड्के राखेर खोला तर्दै आएका थिए तापनि बर्खायाममा दुवैतर्फका आवतजावत ठप्प बनेको थियो । अब भने बाह्रैमास खोला वारपार गर्न सहज भएको अध्यक्ष पुनले बताए ।
यसैबीच मोदी गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको सोमबार उद्घाटन गरेकी छिन् । पुल उद्घाटन गर्दै शर्माले खोला वारपार गर्न वर्षौंदेखि समस्या खेप्दै आएका बाजुङ र क्याङका बासिन्दालाई यो पुलले राहत मिलेको बताइन् । उनले सडक मार्गको पहुँच पुग्न नसकेको यहाँका बासिन्दालाई सुविधा पुर्याउनका लागि झोलुङ्गे पुल निर्माण गर्न सहयोग गरेकोमा स्वाप कार्यक्रम नेपाललाई धन्यवाद दिँइन् ।

