काठमाडौं । सार्वजनिक यातायात क्षेत्रका विभिन्न संघसंस्थाले सोमबारदेखि देशव्यापी अनिश्चितकालीन सवारी सेवा बन्द गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति २०८२’ को आह्वानमा गरिएको आन्दोलन अन्तर्गत सार्वजनिक सवारीसाधन ग्यारेजमै थन्क्याइएको छ ।
संघर्ष समितिका अनुसार गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी व्यवस्थाले सार्वजनिक यातायात क्षेत्रलाई विस्थापित गर्ने खतरा बढेको भन्दै आफूहरूले त्यसको विरोधमा सवारी साधन नचलाउने निर्णय लिएको स्पष्ट पारेका छन् ।
समितिका सदस्य संघसंस्थाहरूले निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडामा प्रयोग गर्न दिने प्रावधानविरुद्ध पटक–पटक सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै समस्या समाधानको माग राखे पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् ।
यसबीच आइतबार प्रकाशित संयुक्त विज्ञप्तिमा भनिएको छ, “यस आन्दोलनका कारण उत्पन्न हुन सक्ने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्छ । साथै, आम यात्रु, सेवाग्राही, मजदुर तथा कर्मचारीहरूप्रति सहानुभूति व्यक्त गर्दै सार्वजनिक यातायात जोगाउन सहयोग गरिदिन हार्दिक आग्रह गर्छौं।”
संघर्ष समितिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, यातायात व्यवसायी महासंघ, विभिन्न श्रमिक संगठन लगायतको संयुक्त सहभागिता छ ।
हालको निर्णयअनुसार कुनै समयसीमा नतोकिएसम्म सार्वजनिक सवारी साधन सञ्चालन नहुने र आन्दोलनका थप कार्यक्रम आवश्यकताअनुसार सार्वजनिक गरिने संघर्ष समितिले जनाएको छ ।