CLI

उत्पादनलाई प्रोत्साहन गरेको सन्तुलित बजेट : परिसंघ

काठमाडौं । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई सन्तुलित बताएको छ । आइतबार विज्ञप्ति जारी गर्दै सरकारले वर्तमान अर्थतन्त्रको चुनौती पहिचान गर्दै गतिशिल अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको लगानी बढाउन सहयोग गर्ने गरी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको बताएको हो ।

बजेट सन्तुलितसँगै केही क्षेत्रलाई उच्च प्राथमिकता दिएकोमा सरकारले बजेटमार्फत आर्थिक वृद्धिका लागि उच्च योगदान गर्ने क्षेत्रमा थप नीतिगत, कानूनी र प्रक्रियागत सुधार गर्दै निजी लगानी प्रवद्र्धनलाई प्राथमिकता दिएको छ, यो स्वागतयोग्य भएको टिप्पणी परिसंघले गरेको छ ।

विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्ने अनुमति प्राप्त उद्योगलाई शुरूका तीन वर्षको भाडा छुट दिने, विशेष आर्थिक क्षेत्रको मासिक भाडादर प्रति वर्ग मिटर रु. २० बाट घटाई रु. ५ कायम गर्ने, औद्योगिक क्षेत्रका उद्योगले उत्पादनको तीस प्रतिशतभन्दा बढी निर्यात गरेमा विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा दिने विषयलाई परिसंघ स्वागत गरेको हो । यसैगरी, औद्योगिक क्षेत्र निर्माण गर्ने कम्पनीलाई जलविद्युत उत्पादन कम्पनी सरह र त्यस्तो औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई विशेष आर्थिक क्षेत्रका उद्योग सरहको सुविधा उपलब्ध गराइने, औद्योगिक क्षेत्रको लागि निर्धारित मासिक भाडादरमा ५० प्रतिशत कटौती गरिने, जग्गा प्राप्ति र हदबन्दीसम्बन्धी कानूनको पुनरावलोकन गर्ने घोषणा ‍पनि उपयुक्त हुने टिप्पणी परिसंघको छ ।

परिसंघले स्टार्टअप तथा उद्यमशीलता प्रबर्द्धन गर्न इन्क्यूवेशन सेन्टर स्थापना तथा संचालन गर्न आग्रह गर्दै आएकोमा सरकारले बजेटमार्फत सरकार, विश्वविद्यालय र निजी क्षेत्रसँगको सहकार्यमा इन्कुवेशन सेन्टर सञ्चालन गर्ने घोषणा गरेको छ । सूचना प्रविधि सेवा निर्यातबाट प्राप्त हुने आयमा लाग्ने करमा ७५ प्रतिशत छुट हुने, नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिको आम्दानीमा ५ प्रतिशत मात्र आयकर लाग्ने र यो कर अन्तिम हुने, दश करोडसम्मको वार्षिक कारोबार गर्ने स्टार्टअप व्यवसायलाई ५ वर्षसम्म आयकर नलाग्ने व्यवस्था, सूचना प्रविधिमा आधारित उद्योग र होटल तथा रिसोर्टलाई विशेष उद्योग सरह आयकर र विद्युत महसुल छुट दिने व्यवस्थाले सूचना प्रविधि तथा स्टार्टअप क्षेत्रमा लगानी आकर्षित गर्ने विश्वास परिसंघको छ ।

नेपाली व्यवसायी वा कम्पनीलाई विदेशमा बिक्री शाखा वा अर्धप्रशोधित सामग्री निर्यात गरी प्रशोधन कारखाना स्थापना गर्न अनुमति दिने तथा निर्यातबाट हुने वार्षिक आम्दानीको २५ प्रतिशतसम्म विदेशमा लगानी गर्न पाउने गरी कानूनी व्यवस्था गरिने विषय निकै दूरगामी भएको बताउँदै यसको परिसंघले स्वागत गरेको छ ।

सिमेन्ट, छड, गिट्टी र वालुवा प्रयोग गरी आरसिसि ढलान सहित कालोपत्रे गर्ने, स्ट्याण्डर्ड गेज मापदण्डको
विद्युतीय रेलमार्ग निर्माण गर्न विस्तृत अध्ययन गर्ने, निजी क्षेत्रसँगको साझेदारीमा व्यवस्थित शहर विकास गर्ने नीतिले अर्थतन्त्रको विकासलाई गति प्रदान गर्ने विश्वास परिसंघको छ ।

Leave Your Comment

Related News