काठमाडौं । हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । मनसुनी वायुको प्रभाव कोशी प्रदेशका अधिकांश भू-भागमा रहेको छ ।
यस वर्षको मनसुन मिति गत जेठ १५ गते बिहीबार रातिबाट नेपालको पूर्वबाट प्रवेश गरी कोशी प्रदेशका अधिकांश भू-भागमा विस्तार भएको थियो । जुन कोशी प्रदेशमै रोकिएको छ भने पश्चिमीतर्फ सरेको छैन । जसको फलस्वरुप कोशी प्रदेशका अधिकांश मौसम केन्द्रहरुमा हल्का देखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।


