प्रेस स्वतन्त्रतामाथि अदालतको हस्तक्षेपप्रति इम्सनको ध्यानाकर्षण

काठमाडौं । पछिल्लो समय सञ्चारमाध्यमहरूमा प्रकाशित सामग्री हटाउने र नयाँ सामग्री प्रकाशनमा रोक लगाउने अदालती आदेशहरू जारी हुन थालेपछि यस प्रकारको घटना प्रति इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले ध्यानाकर्षण जनाएको छ।

इम्सनले विज्ञप्ति जारी गर्दै नेपालको संविधान २०७२ ले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरेको स्मरण गराउँदै पछिल्ला घटनाले नेपालमा प्रेस स्वतन्त्रता कुण्ठित हुँदै गएको गम्भीर आशंका उत्पन्न गराएको जनाएको छ।

विज्ञप्तिमा बिजमाण्डु प्रालि र नेपाल खबर प्रा।लि। लाई समाचार हटाउन तथा थप प्रकाशनमा रोक लगाइएको र पत्रकार दिलभुषण पाठकमाथि पक्राउ पुर्जी जारी गरिनु प्रेस स्वतन्त्रता प्रतिको आक्रमणसरह भएको ठहर गरिएको छ।

इम्सनका अनुसार कुनै समाचार सामग्रीप्रति असन्तुष्टि वा विवाद उत्पन्न भएमा त्यसको प्रारम्भिक निरूपण तथा मूल्यांकन गर्ने संवैधानिक निकाय प्रेस काउन्सिल नेपाल भएको स्पष्ट छ। संविधानको रक्षा गर्ने जिम्मेवारी अदालतको भए पनि प्रेस स्वतन्त्रताको मर्म र मिडिया स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिलाई अदालतले सधैं संरक्षण गर्दै आएको उदाहरण रहेको स्मरण गराइएको छ।

इम्सनले प्रेस स्वतन्त्रताको रक्षा, पत्रकार तथा मिडिया संचालकहरूको पेशागत स्वतन्त्रता, र प्रेस काउन्सिल नेपालको संस्थागत मर्यादा जोगाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएको छ। साथै, स्वतन्त्र र निष्पक्ष पत्रकारिताको मर्म अनुसार पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न सम्पूर्ण पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रहसमेत गरिएको छ।

संविधान प्रदत्त प्रेस स्वतन्त्रता कायम राख्न सम्पूर्ण निकायहरू सचेत र संवेदनशील रहनुपर्ने इम्सनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार