काठमाडौं । एयर इन्डियाको एक अन्तर्राष्ट्रिय उडानमा बम भएको आशंकापछि शुक्रवार बिहान आकस्मिक अवतरण गरिएको छ। थाइल्यान्डको फुकेतबाट भारतको राजधानी नयाँ दिल्लीतर्फ गइरहेको एआई ३७९ उडान बमको हल्ला फैलिएपछि उडेका केही मिनेटभित्रै फुकेत विमानस्थलमै अवतरण गराइएको हो।
थाइल्यान्डको स्थानीय समयअनुसार बिहान ९स्३० बजे उडेको विमान अन्डमान सागरमा केही समय फन्का लगाएर पुनः फुकेत फर्किएको थियो। बमको सूचना पाउने बित्तिकै विमानस्थल र सुरक्षा अधिकारीहरूले आपतकालीन प्रतिक्रिया दिएर १५६ यात्रुहरूलाई सुरक्षितरूपमा विमानबाट बाहिर निकालेको थाइल्यान्ड विमानस्थल प्राधिकरणले जनाएको छ।
घटनाको विस्तृत विवरण आउन बाँकी रहे पनि हालसम्म विमानमा कुनै पनि बम फेला नपरेको पुष्टि अधिकारीहरूले गरेका छन्। बमको स्रोत र सूचना कसरी प्राप्त भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ।
यो घटना एयर इन्डियाको अर्को विमान भारतको अहमदाबादबाट उडेपछि बिहीवार भएको दुर्घटनाबाट एक दिनपछि मात्र भएको हो, जसले थप सतर्कता र सुरक्षाका उपायहरूलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था सिर्जना गरेको छ।
सुरक्षा निकायले बमको सूचना र यसको संभावित श्रोतबारे थप अनुसन्धान अघि बढाइरहेका छन्। यात्रुहरूलाई हालसम्म कुनै क्षति नभएको र उडान सेवा फेरि कहिले सुचारु हुने भन्ने विषयमा एयर इन्डियाले आधिकारिक जानकारी दिन बाँकी छ।

