बंगलादेशमा विद्युत् निर्यात सुरु, पाँच महिनासम्म दैनिक ४० मेगावाट बेचिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आजदेखि बंगलादेशमा विद्युत् निर्यात सुरु गरेको छ । प्राधिकरणले शनिबार रातिदेखि विद्युत् निर्यात सुरु गरेको हो । आजदेखि पाँच महिनासम्म दैनिक ४० मेगावाट बिजुली भारतीय बाटो हुँदै बंगलादेशमा बिक्री हुनेछ ।

नेपाल, भारत र बंगलादेशबिच २०८१ असोजमा बंगलादेशमा विद्युत् निर्यातका लागि त्रिपक्षीय सम्झौता भएको थियो । त्रिपक्षीय सम्झौतापछि कात्तिक ३० गते एक दिनका लागि मात्रै उद्घाटनका लागि विद्युत् निर्यात भएको थियो । शनिबार रातिदेखि पहिलोपटक आधिकारिक रुपमा बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको हो ।

बंगलादेशले प्रतियुनियट ६.४० सेन्टमा बिजुली खरिद गरेको हो ।

अब आगामी कात्तिक २९ गतेसम्म बंगलादेशमा बिजुली निर्यात हुनेछ । हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म बंंगलादेशमा विद्युत् निर्यातका लागि सम्झौता भएको छ ।

बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)ले २०८० पुस १६ गते नेपालबाट उत्पादित ४० मेगावाट विद्युत् बंगलादेश, भारत र नेपालका निकायहरुबीचको त्रिपक्षीय सम्झौताअनुसार हुनेगरी पाँच वर्षसम्म खरिदका लागि बोलपत्र (टेण्डर) आह्वान गरेको थियो ।

प्राधिकरणले भारतीय अनुदानमा निर्माण भएको तथा आफ्नो स्वामित्वमा रहेको २५ मेगावाटको त्रिशूली र सहायक कम्पनीमार्फत निर्माण गरिएको २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत बंगलादेश निर्यात गरिएको हो । यी दुवै भारतमा विद्युत निर्यातका लागि स्वीकृति पाइसकेका आयोजनाहरु हुन् ।

नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै बंगलादेश निर्यात हुने विद्युतको मूल्य प्राधिकरणले भारतरको मुजफ्फरपुर विन्दुमा पाएको छ । अर्थात बंगलादेश निर्यात हुने विद्युतको मिटर मुजफ्फरपुरमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार