काठमाडौं । सरकारले पुल सुधार तथा मर्मत कार्यक्रमको लागि विश्व बैंकबाट २० अर्ब ७९ करोड सहुलियतपूर्ण ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्रो चरणको लागि विश्व बैंकबाट प्राप्त हुने करिब २० अर्ब ७९ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्न अर्थ मन्त्रालयलाई अधिकार दिएको हो ।
त्यस्तै बैठकले प्रधानमन्त्री केपी ओली यही आउँदो असार १६ मा स्पेन जाने भएका छन् । उनी ६ दिन लामो भ्रमणका लागि स्पेन जान लागेका हुन् ।
बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत पाटन अन्तर्गत हेटौंडा इजलासका न्यायाधीश शान्ता सेढाईलाई तोक्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडा मगरलाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।


