काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एनसीएचएल बीच एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिप तथा नेपालपे क्यूआरमा अन्तरदेशीय भुक्तानीका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा इन्द्र कुमार कट्टेल तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
एनसीएचएलले हालै एनपीएस–एनसीएसको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक वित्तीय संस्थाहरुलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै बैंक वित्तीय संस्थाहरु एनपीएस–एनसीएस र नेपालपे कार्डमा आवद्ध भइरहेका छन् । नेपालपे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात एक्सेल डेभलपमेन्ट बैंकले ग्राहकहरुका लागि उक्त कार्ड इस्यू तथा अक्वायर गर्न सक्नेछन् ।
एनपीएस–एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।
यस सम्झौता अन्तर्गत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका interoperable QR को मर्चेन्ट QR मा Alipay+ को नेटवर्क मार्फत भुक्तानी गर्न सकिने छ । चाइना, हङ्गकङ्ग, सिंगापुर, मलेसिया, इन्डोनेसिया, फिलिपिन्स, मङ्गोलिया, थाईल्याण्ड, साउथ कोरिया, स्वीडेन, इटली, अष्ट्रीया, जर्मनी लगायतका देशहरुबाट नेपाल आएका पर्यटकहरुले डोमेस्टिक वालेट मार्फत नेपालमा रहेका नेपालपे क्यूआर तथा यसका interoperable QR मा सजिलै भुक्तानी गर्न सक्नेछन् । Alipay+को नेटवर्कमा ६६ वटा विभिन्न ग्लोबल मार्केट अन्तर्गत ३० भन्दा बढि इसुइङ्ग उपकरण, ३०० भन्दा बढि acquiring network, ९ करोड भन्दा बढि ग्लोबल मर्चेन्टहरु आबद्ध रहेका छन् ।Alipay+को नेटवर्कमा Alipay China, OCBC, Changipay, Gcash, AlipayHK, Hipay, KakaoPay, TossPay, NaverPay, TnGD, PBB, TrueMoney, Mpay, Tinaba मार्फत अन्तरदेशीय भुक्तानीहरु गर्न सकिने व्यवस्था रहेको छ ।
एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपीएस–एनसीएस र नेपालपे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पुर्याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी विकास बैंकहरु मध्येको एक्सेल डेभलपमेन्ट बैंकले देश भरी रहेका ४७ वटा शाखा तथा ३ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गहरुलाई अत्याधुनिक बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

