CLI

राष्ट्र बैंकका गभर्नर पौडेलको सम्पत्ति : ४५ तोला सुन र १५ लाख कित्ता शेयर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्व पौडेलले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । राष्ट्र बैंकमा असार ५ गते बुझाएको सम्पत्ति विवरणमा ललितपुरको भैँसेपाटी र नवलपुरको गैँडाकोटमा पत्नीको नाममा घर रहेको उल्लेख गरिएको छ।

भैँसेपाटीमा रहेको घर ५ आना २ दाम क्षेत्रफलमा फैलिएको छ । यस्तै, गैंडाकोटको घर दुई कित्ता गरी ६ आना १ दाममा फैलिएको उनले उल्लेख गरेका छन् । दुवै घर उनको श्रीमती प्रतिभा शर्माको नाममा छ । सैंबुमा एक करोड ५५ लाखको जग्गा र गैंडाकोटमा ६० लाखको जग्गा देखाएका छन् । घर र जग्गा पैतृक र स्वआर्जन भनेका छन् । उनले करिब ४५ तोला सुनका गरगहना रहेको पनि उल्लेख गरेका छन् ।

शेयरतर्फ पौडेलको नाममा सानिमा बैंकको दुई करोड ४४ लाख १६ हजार ६०० बराबरको दुई लाख ४४ हजार १७६ कित्ता प्रवद्र्धक शेयर रहेको छ । सानिमा माइ हाइड्रोपावरको ९२ लाख ५७ हजार ९०० रुपैयाँ बराबरको ९२ हजार ५७९ कित्ता शेयर, सानिमा मिडल तमोर हाइड्रोपावको एक करोड ८८ लाख बराबरको एक लाख ८८ हजार कित्ता शेयर रहेको छ ।

९३ लाख ४१ हजार ७०० रुपैयाँ बराबरको एक लाख ८६ हजार ८३४ कित्ता शेयर ग्लोबेको प्रालिको रहेको छ । संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता र चितवन इनर्जीको दुई करोड ५० लाख रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ता शेयर पौडेलको नाममा रहेको छ । उनले श्रीमती शर्माको नाममा ग्लोबेको प्रालिमा ३७ लाख ५० हजार रुपैयाँको ७५ हजार कित्ता शेयर रहेको विवरण पेस गरेका छन् ।

अन्य विभिन्न कम्पनीमा पनि शेयर रहेको उनले उल्लेख गरेका छन् । सानिमा बैंकमा १३ लाख २३ हजार १९२ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा दुई लाख ५९ हजार ३४४ रुपैयाँ, सानिमा बैंकको डलर खातामा ६६.७८ डलर पौडेलको नाममा रहेको छ ।

सानिमा बैंकमा १२ हजार ५४७ रुपैयाँ, प्रभु बैंकमा चार लाख ७३ हजार ८२२, सानिमा बैंकको डलर खातामा चार हजार ४४६ डलर उनको श्रीमती शर्माको नाममा रहेको उल्लेख गरेका छन् । बैंक खातामा रहेको सबै रकम स्वआर्जन भनिएको छ । साथै, श्रीमतीको नाममा सुजुकी कम्पनीको एउटा कार पनि रहेको उनले उल्लेख गरेका छन् । कारको खरिद मूल्य ४४ लाख रुपैयाँ छ ।

Leave Your Comment

Related News