नागढुंगा सुरुङ मार्गमा नेपाल टेलिकमको मोबाइल नेटवर्कले मात्र काम गर्ने, नयाँ प्रविधिको प्रयोग हुँदै

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङ मार्ग नागढुंगा–सिस्नेखोलामा मोबाइल नेटवर्क सेवा प्रदान गर्न नेपाल टेलिकमले तयारी सुरु गरेको छ। सुरुङ मार्ग निर्माण भइरहेकै बेला मोबाइल सेवा सुरु गर्ने गरी नेपाल टेलिकम र सडक विभागबीच गत असार १ गते सम्झौता भएको टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिएका छन्।

निर्माणाधीन सुरुङ मार्ग भित्र मोबाइल कभरेज प्रदान गर्न नेपाल टेलिकमले मुलुकमै पहिलोपटक लिकी फिडर केबल एन्टेना प्रविधि प्रयोग गर्न लागेको हो। टेलिकमका अनुसार सुरुङ भित्र आउटडोर नेटवर्कले काम नगर्ने भएकाले इनडोर नेटवर्क स्थापना गरिनेछ। यसका लागि आवश्यक प्रविधि खरिद प्रक्रिया थालिएको र प्राविधिक विशिष्टता (स्पेसिफिकेसन) तयार पार्ने काम भइरहेको छ ।

यसको सम्पूर्ण लागत नेपाल टेलिकमले नै व्यहोर्नेछ। प्रविधि खरिद प्रक्रिया सुरुवाती चरणमा रहेकाले अहिले नै यकिन लागत अहिले भन्न नसकिने प्रवक्ता मानन्धरले बताए।

सुरुङ मार्गमा २जी र ४जी नेटवर्क मात्रै जडान गरिनेछ भने ३जी सेवा भने स्थापना नगरिने टेलिकमले जनाएको छ। टेलिकमका अनुसार भ्वाइस सेवा २जी नेटवर्कबाट र डाटा सेवा ४जी नेटवर्कबाट उपलब्ध हुनेछ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सौजन्य नेपालले सुरुङ मार्गजस्तो संवेदनशील क्षेत्रमा आपतकालीन उद्धारका लागि मोबाइल नेटवर्क आवश्यक भएकाले नेपाल टेलिकमसँग सम्झौता गरिएको जानकारी दिए। ‘सुरुङ भित्र कुनै पनि उद्धार कार्य आवश्यक पर्न सक्छ। यस्तो अवस्थामा मोबाइल नेटवर्क महत्वपूर्ण हुन्छ,’ उनले भने।

सुरुङमा सीसीटीभी फुटेज, आन्तरिक सञ्चार तथा टेलिफोन बुथको व्यवस्था विभागले गरेको र आन्तरिक नेटवर्कमा समस्या आएमा मोबाइल नेटवर्कमार्फत उद्धार लगायतका कार्य सहज हुने विश्वास विभागको छ। हाल मोबाइल नेटवर्क स्थापनाका लागि नेपाल टेलिकमसँग मात्र सम्झौता गरिएको र नेटवर्क स्थापनाका लागि आवश्यक उपकरण र बजेटको व्यवस्था सेवा प्रदायकले गर्ने सहसचिव नेपालले बताए ।

के हो लीकी फिडर केबल एन्टेना

लीकी फिडर केबल एन्टेना विशेष प्रकारको केबल वा एन्टेना हो जुन सञ्‍चार सिग्नलहरू प्रसारण (ट्रान्सफर) र ग्रहण (रिसिप) गर्नका लागि प्रयोग गरिन्छ। यसलाई प्रायः भूमिगत सुरुङ, खानी, मेट्रो रेल, वा त्यस्ता स्थानहरूमा प्रयोग गरिन्छ जहाँ परम्परागत एन्टेना वा रेडियो सिग्नल सजिलै नपुग्ने हुन्छ।

लीकी फिडर केबल सामान्यतया को-एक्सियल केबल जस्तै देखिन्छ तर यसको संरचनामा स९साना प्वाल वा स्लटहरू हुन्छन्। ती स-साना प्वालहरूबाट सिग्नल बिस्तारै चुहिन्छ र वरिपरिका क्षेत्रमा फैलिन्छ। यसै कारण यसलाई लीकी (चुहिने) फिडर भनिन्छ।

लीकी फिडर केबल एन्टेनाको केबलमा सञ्‍चार सिग्नल प्रवाहित हुन्छ। केबलको छेउछाउमा भएका प्वाल वा स्लटहरूबाट सिग्नल विस्तारै बाहिर चुहिन्छ। त्यसले सुरुङ वा बन्द स्थानभरि सिग्नल फैलाउँछ र मोबाइल, रेडियो वा अन्य वायरलेस उपकरणहरूलाई सिग्नल उपलब्ध गराउँछ। यस्तै गरी, वरिपरिबाट आएका सिग्नलहरू पनि ती प्वालहरू हुँदै केबलमा पस्छन् र केन्द्रिय प्रणाली वा बूस्टरसम्म पुग्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार