काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ ।
केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए ।
असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।
गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

