CLI

वीरगञ्ज नाकाबाट ४ खर्ब ३४ अर्बको आयात, ८७ अर्बकाे निर्यात

वीरगञ्ज (पर्सा)। चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु ४ खर्ब ३४ अर्ब २६ करोड मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन्। यो नाका हुँदै भएको कुल आयातको ७६.८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार, यो नाका हुँदै आयात-निर्यातको सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ। यसले वीरगञ्ज नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको देखाउँछ ।

भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ। चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन्, जसको हिस्सा ८.२७ प्रतिशत छ। त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान भित्रिएका छन्, जसको हिस्सा १.२२ प्रतिशत छ ।

चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा रु ५ खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन्।

वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएका छन्। यसमध्ये रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ, जसको हिस्सा ९५.०५ प्रतिशत छ।

यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ, जहाँ कुल निर्यातको २.३८ प्रतिशत अर्थात् रु २ अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ। त्यस्तै, अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा रु ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ ।

Leave Your Comment

Related News