काठमाडौं । नेपालभरि स्थायी लेखा नम्बर लिने करदाता संख्या ६७ लाख ९९ हजार ८ सय १५ पुगेको छ । तीमध्ये सबैभन्दा धेरै व्यक्तिगत स्थायी लेखा नम्बर लिने छन् ।
अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ को चैतसम्म ५ लाख ७३ हजार ६ सय ८२ स्थायी लेखा नम्बर लिएका करदाता थपिए सँगै उक्त संख्या वृद्धि भएको हो । यससँगै स्थायी लेखा नम्बर लिएका करदाताको कुल संख्या ६७ लाख ९९ हजार ८ सय १५ पुगेको छ ।
यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा नम्बरमा व्यावसायिक स्थायी लेखा नम्बर, करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर र व्यक्तिगत स्थायी लेखा नम्बरको अनुपात क्रमशः २९.९ प्रतिशत ०.५ प्रतिशत र ६९.५ प्रतिशत रहेको छ। यस अवधिसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख ४५ हजार ९ सय ७८ र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख २४ हजार २ सय ६४ पुगेको छ ।
मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ फागुनसम्म व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४६ लाख ७६ हजार १ सय ८८ रहेको थियो ।
सरकारले २०७६ साउन १ गते देखि लागू हुने गरी स्थायी लेखा नम्बर अनिवार्य गरेको थियो । प्यान नम्बर अनिवार्य गरेपछि अब कुनै पनि फर्म तथा निकायले प्यानबिना तलब दिन नपाउने व्यवस्था सरकराले गरेको थियो , सो सँगै प्यान नम्बर लिनेको संख्यामा वृद्धि हुँदै गएको हो ।

