काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी दुई पक्षीय सम्झौता हालै सम्पन्न भएको छ ।
सम्झौताअनुसार, मुक्तिनाथ क्यापिटलले गर्जाङ उपत्यका हाइड्रोपावरको सार्वजनिक सेयर निष्कासन प्रक्रियालाई अगाडि बढाउन बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रोपावरका अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले आफ्नो जारी पुँजी ५० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता साधारण सेयर प्रतिकित्ता १०० रुपैयाँको दरमा सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
निष्कासनकर्ता कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि सेयर निष्कासन प्रक्रिया अघि बढाइनेछ ।


