काठमाडौं। महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारी गर्न सरकारी निकायलाई मनाही गरेका कारण आज बुधबार सरकारी खर्च भुक्तानीको अन्तिम दिन रहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा सरकारी खर्चका लागि भुक्तानी गर्ने अन्तिम दिन हुँदा अत्यावश्यकबाहेकका खर्चको भुक्तानी बुधबार सम्म दिइसक्नुपर्ने महालेखाले जनाएको छ।
महालेखा कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणका अनुसार सरकारले मंगलबारसम्म ७८.८४ प्रतिशत मात्रै सरकारी खर्च गरेको छ। बजेटमा सरकारले चालू आवका लागि १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने लक्ष्य लिएको थियो।
यसमध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब २८ करोड खर्चिने लक्ष्य थियो। कुल बजेटमध्ये सरकारले पछि संशोधन अनुमान गर्दै १६ खर्ब ६२ अर्ब ३७ करोडमा समेटेको थियो।
महालेखाका अनुसार असार २४ सम्म १४ खर्ब ६६ अर्ब ५८ करोड खर्च भएको छ। सरकारले आज बुधबार अन्तिम दिन १ खर्ब साढे ९५ अर्ब बढी भुक्तानी दिनुपर्नेछ।

