राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मा नियुक्त

काठमाडौं । हिजो सोमबार बसेको मन्त्री परिषद् वैठकले  राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा डा. खगराज शर्मालाई नियुक्त गरेको छ  ।

प्राधिकरणको अध्यक्ष सिफारिस समितिले भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका पूर्वसचिव अर्जुनप्रसाद पोखरेल, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नारायण पौडेल र डा. खगराज शर्माको नाम सिफारिस गरेको थियो । सिफारिसमा परेका मध्येबाट सोमबारको मन्त्रिपरिषद बैठकले शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्षमा नियुक्त भएका शर्मा लुम्बिनी विशिष्टिकृत सहकारी संघको अध्यक्ष भएका थिए । त्यसभन्दा अघि सिद्धार्थ बहुउद्देशीय सहकारीका अध्यक्ष पनि भएका छन् । शैक्षिक रुपमा सहकारीमा विद्यावारिधि गरेका शर्मा सहकारी अभियन्ता हुन् ।

सहकारी ऐन २०७४ को दफा १०३ (ङ) बमोजिम लोक सेवा आयोगको संयोजकमा सिफारिस समिति गठन भएको थियो । समितिमा पूर्व सचिव सुमन शर्मा र विज्ञसदस्य गुणनिधि भुसाल विज्ञ सदस्य थिए ।

सो समितिले आवेदकहरुको अनुभव, व्यवसायिक कार्ययोजना मूल्यांकन, कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता लिएको थियो । त्यसका आधारमा योग्यताक्रम निर्धारण हुँदा शर्मा पहिलो र पोखरेल दोस्रो नम्बरमा परेका थिए । पहिलो नम्बरमा परेका शर्मालाई मन्त्रिपरिषद बैठकले प्राधिकरणको जिम्मा दिएको हो ।

समितिले अध्यक्ष र सदस्यको योग्यता सहकारी ऐन २०४७ को दफा १०३ अनुसार कायम भएको हुनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार अध्यक्षका लागि ‘कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरह कार्य गरेको वा अन्तर्राष्ट्रिय वा राष्ट्रियस्तरका बैंक वा वित्तीय वा सहकारी संस्थामा रही कम्तीमा १५ वर्ष कार्यअनुभव भएको हुनुपर्ने’ भनेर तोकिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार