काठमाडौं । इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित हुन नसकेपछि नगरसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
सत्तापक्ष र प्रतिपक्षी दलबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा १६ औँ नगरसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो।
नगरप्रमुख हेमकर्ण पौडेलले नेकपा एमालेका कारण बजेट पारित हुन नसकेको आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘नेकपा एमालेका नेताहरूले मागेको बजेट दिन नसक्दा बहुमतको आडमा नगरसभा स्थगित गरियो, इटहरीवासी बजेटबाट विमुख भए।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पक्षले भने नगरप्रमुख पौडेलले प्रक्रिया मिचेर एकलौटी ढंगले बजेट पारित गर्न खोजेको आरोप लगाएको छ।
उपप्रमुख संगीता चौधरीका अनुसार अर्थ विधेयक, विनियोजन विधेयक र राजस्वको दररेटजस्ता महत्त्वपूर्ण कागजात उपलब्ध नगराई बजेट पास गर्न खोजिएपछि विवाद भएको हो।

