पर्यटन बोर्डको बजेट २२ करोड घट्यो

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५९ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको तुलनामा यो २२ करोडले कम हो । गत आर्थिक वर्ष बोर्डले १ अर्ब ८२ करोडको बजेट ल्याएको थियो ।

बोर्डले कुल बजेटको ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्च गर्ने जनाएको छ । यसको मुख्य लक्ष्य नेपाललाई सुरक्षित, भरपर्दो र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नु रहेको छ ।

भारतमा कार्यालय स्थापना: भारत, नेपालको सबैभन्दा ठूलो पर्यटक स्रोत बजार भएकाले त्यहाँको दिल्ली वा अन्य प्रमुख सहरमा स्थायी कार्यालय खोल्ने तयारी अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। सन् २०२४ मा मात्रै भारतबाट ४ लाखभन्दा बढी पर्यटक नेपाल आएका थिए ।

स्रोत बजार विस्तार: बोर्डले अमेरिका, चीन, जापान, कोरिया, अष्ट्रेलिया, बङ्गलादेश, श्रीलङ्का, मलेशिया, थाइल्याण्ड, र युरोपका विभिन्न देशहरूमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नेछ ।

प्रवर्द्धनात्मक रणनीति: ‘नेपालः लाइफ टाइम एक्सपिरियन्स’ भन्ने नाराका साथ विश्वका प्रमुख पर्यटन मेलाहरूमा सहभागिता, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग सहकार्य, ट्राभल ब्लगर र मिडिया फ्याम टुरजस्ता कार्यक्रमहरू प्राथमिकतामा राखिएका छन् ।

लक्ष्य र कार्ययोजना:

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार यो बजेटले पर्यटन व्यवसायको विकास, विस्तार र प्रवर्द्धनमार्फत राष्ट्रिय उत्पादन, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना र पर्यटन क्षेत्रको दिगो विकासमा टेवा पुर्याउनेछ।

पर्यटक आगमन वृद्धि: चालु आर्थिक वर्षमा कम्तीमा १५ प्रतिशतले पर्यटक आगमन बढाउने लक्ष्य राखिएको छ ।

गुणस्तरीय पर्यटन: गुणस्तरीय पर्यटक आगमनलाई प्राथमिकता दिँदै पर्यटकबाट हुने समग्र आयमा कम्तीमा १५ प्रतिशतले वृद्धि गर्ने योजना छ ।

जनशक्ति विकास: पर्यटन व्यवसायका लागि आवश्यक थप ५ हजार जनशक्ति उत्पादन गर्ने र २५ वटा नयाँ पर्यटन पूर्वाधार संरक्षण गर्ने लक्ष्य पनि बोर्डले लिएको छ ।

आन्तरिक पर्यटन: अन्तर्राष्ट्रिय बजारसँगै आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि बजेट विनियोजन गरिएको छ। विशेषगरी प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्रसँगको सहकार्यमा सुदूरपश्चिम, कर्णाली र पूर्वी नेपालका उदियमान गन्तव्यहरूलाई लक्षित गरी कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

दिगो पर्यटन: दिगो पर्यटनका लागि पर्यटन सूचना व्यवस्थापन प्रणालीको प्रभावकारी कार्यान्वयन, विपद् व्यवस्थापन कोष, जलवायु परिवर्तनमा संवेदनशीलता अभिवृद्धि र अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा जोड दिइएको छ ।

बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवले आगामी दिनमा निजी क्षेत्रको सहभागिता, स्थानीय तहको समन्वय, र अन्तर्राष्ट्रिय साझेदारीको माध्यमबाट ‘स्मार्ट टुरिज्म नेपाल’ को अवधारणा कार्यान्वयन गरिने बताएका छन्। यस बजेटलाई नेपालको पर्यटन पुनर्जागरणको रोडम्यापका रूपमा हेरिएको छ ।

बजेट विनियोजनका अन्य क्षेत्रहरू:-

बोर्डले पर्यटन प्रवर्द्धनका साथै अन्य विभिन्न क्षेत्रमा पनि बजेट विनियोजन गरेको छ:

बजार व्यवस्थापन तथा प्रवर्द्धन: रु. ४३ करोड ६१ लाख

जनसम्पर्क तथा प्रचारप्रसार: रु. १२ करोड ९५ लाख

अनुसन्धान, योजना तथा अनुगमन: रु. २ करोड ६७ लाख

पर्यटन सम्पदा तथा संसाधन विकास: रु. १८ करोड ६३ लाख ५० हजार

नयाँ प्रादेशिक कार्यालय स्थापना र सञ्चालन: रु. ११ करोड ६६ लाख

विशेष प्रवर्द्धनात्मक कार्यक्रमहरू (बुद्धिष्ट ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट आदि): रु. ४ करोड ६२ लाख

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार