रसुवा बाढी : करिब २९ करोड रुपैयाँको बीमा दाबी

काठमाडौं । रसुवाको ल्हेन्देखोलामा आएको बाढीले पुर्‍याएको क्षतिपछि बीमा कम्पनीहरूमा करिब २९ करोड रुपैयाँको बीमा दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार सात वटा बीमा कम्पनीमा गरी २८ करोड ९२ लाख ६० हजार रुपैयाँ बराबरको ६३ वटा दाबी परेको छ ।

सबैभन्दा बढी क्षतिको दाबी शिखर इन्स्योरेन्समा परेको छ, जसमा १० वटा दाबीमार्फत १६ करोड १२ लाख १० हजार रुपैयाँको क्षति भुक्तानी माग गरिएको छ । त्यसपछि नेको इन्स्योरेन्समा तीन वटा दाबीमार्फत ५ करोड २० लाख बराबरको क्षति दाबी गरिएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्समा सात वटा दाबी गरी ३ करोड ४१ लाख ५० हजार रुपैयाँको क्षति देखाइएको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा १२ वटा दाबीदाताले १ करोड २८ लाख ५० हजारको दाबी गरेका छन् भने सानिमा जीआइसी इन्स्योरेन्समा ६ वटा दाबीले ७७ लाख रुपैयाँ बराबरको क्षति देखाएका छन् ।

यस्तै, आइजीआई प्रूडेन्सियल इन्स्योरेन्समा ९ वटा दाबीदाताले ७५ लाख ५० हजारको दाबी दर्ता गराएका छन् । युनाइटेड अजोड इन्स्योरेन्समा तीन वटा दाबीमा ६८ लाख, एनएलजी इन्स्योरेन्समा छ वटा दाबीमा ४७ लाख र सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सात वटा दाबीमा ३१ लाख रुपैयाँको क्षतिको दाबी गरिएको छ ।

प्राकृतिक विपत्तिबाट सिर्जित यो बीमा दाबीले रसुवाको भौतिक पूर्वाधारमा परेको असरलाई पनि देखाएको छ ।

ल्हेन्देखोलाको बाढीले नेपाल–चीन सिमानामा अवस्थित मितेरी पुल, निर्माणाधीन ड्राइपोर्ट, भन्सार कार्यालय, पार्किङमा रहेका सवारी साधन, तथा रसुवागढी जलविद्युत् आयोजनाजस्ता महत्वपूर्ण संरचनामा ठूलो क्षति पुर्‍याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार