काठमाडौं । साताको दोस्रो कारोबार दिन अर्थात, सोमबार नेप्से सूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा बन्द भएको छ । आज १६ अर्ब ३२ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ । कारोबार अवधिको अन्तिम ३० मिनेटमा बजारमा आक्रामक वृद्धि देखिएको हो ।
यसले पनि बजारमा सकारात्मक माहोल बन्दै गएको देखाउँछ । त्यसो त, नयाँ आर्थिक वर्ष सुरु भएसँगै अब सूचीकृत कम्पनीहरुले गत वर्षको चौथो त्रैमासको वित्तीय रिपोर्ट पनि सार्वजनिक गर्न सुरु गर्छन् । अबको केही महिना पछि लाभांशको सिजन पनि सुरु हुन्छ ।
अहिले लाभांश वितरण क्षमता भएका कम्पनीको सेयर खरिद गरेर केही महिना होल्ड गर्ने लगानीकर्ताले लाभांश हात पार्न सक्नेछन् । यता, राष्ट्र बैंकले पनि बजार मैत्री नीति लिएको छ ।
मौद्रिक नीतिमार्फत सेयरधितो कर्जामा लगाइएको क्याप खुकुलो पारिएको छ । लघुवित्त संस्थाहरुको लाभांश वितरणमा लगाइएको १५ प्रतिशतको व्यवस्था परिमार्जन गरिने कुरा पनि उक्त नीतिमा छ । यता, मुद्दतिको ब्याजदर निकै न्यून विन्दुमा झरिसकेको छ । त्यसैले पनि अब सेयर बजारमा लगानी भित्रिने सम्भावना धेरै रहेको बजारका अनुभवि लगानीकर्ताहरुको भनाई छ ।
पछिल्लो केही दिनयता कारोबार रकमसँगै बजारमा चहलपहल बढेको छ । बैंक तथा वित्तीय संस्थाहरु स्वयं पनि अहिले सेयर बजारमा सक्रिय छन् । यसरी संस्थागत लगानीकर्ता सक्रिय हुँदा खुद्रा लगानीकर्ताहरु पनि बढी भरोसा लिएर बजारमा प्रवेश गरिरहेका छन् ।
साथै, सेयर बजारमा चक्र अनुसार उतारचढाव आउँछ । विगतमा बजार लामो समयसम्म घटेपछि अहिले पुन: तीव्र वृद्धिको चरणमा छ । साथै, फोमोको कारणले धेरै नयाँ लगानीकर्ता बजारमा प्रवेश गरिरहेका छन् । अर्थात्, अरुले कमाइरहेको सुनेपछि आफू पनि कमाउने आशाले बजारमा पसेको स्थिति देखिएको छ । नेपालको सेयर बजार दैनिक रुपमा वृद्धि हुनुमा विभिन्न नीतिगत सुधार, आर्थिक परिसूचकहरुमा सकारात्मक संकेत, र लगानीकर्ताको बदलिँदो व्यवहारको परिणाम हो ।
सोमबार कारोबार भएका ३११ वटा स्क्रिप्ट मध्ये १५३ वटाको भाउ बढेको छ भने ९६ वटाको घटेको छ । ४ वटा कम्पनीको बजार भाउ ९ प्रतिशत भन्दा धेरैले बढेको छ भने ३ वटाको ९ प्रतिशत भन्दा धेरैले घटेको छ । सबैभन्दा धेरै कारोबार नेपाल रिइन्सुरेन्सको देखिएको छ । त्यसपछि हिमालयन रिको पनि ७५ करोड भन्दा धेरैको कारोबार भएको छ । सूचीबद्ध सबै उपसमूह बढेका छन् ।

