काठमाडौं । उच्च आयात र न्यून निर्यातका कारण नेपालको तेस्रो मुलुकसँगको व्यापार घाटा बढेको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा व्यापार घाटा १५ खर्ब २७ अर्ब ९ करोड पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा ६ प्रतिशतले बढी हो । आव २०८०/८१ मा व्यापार घाटा १४ खर्ब ४० अर्ब ६० करोड रहेको थियो ।
उद्योगभन्दा ट्रेडिङ नीति, पारवहान लागत, प्रविधिको कमी र तुलनात्मक लाभका वस्तु परिमार्जित नहुदाँ व्यापार बढ्न नसकेको जानकारहरु बताउछन् । कृषिप्रधान मुलुक भन्ने कृषि उत्पादनमा जोड नदिदाँ आयात उच्च भएको बताउँछन व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक डा. समुन रेग्मी बताउछन् । उनले अधिकांश निर्यातयोग्य वस्तुहरु आयातीत कच्चा पदार्थमा र न्यूनतम मूल्य अभिवृद्धिमा आधारित हुदाँ व्यापार घाटामा कमी आउन नसकेको बताए । निर्यातयोग्य कृषि क्षेत्रका वस्तुहरुका व्यावसायिक उत्पादन हुन नसक्नु अर्को समस्या रहेको उनको भनाई छ ।
तेस्रो मुलुकबाट आयात गरिने सामग्रीहरुमा भने उच्च परिमाणमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री छन् ।
गत आवमा आयात १८ खर्ब ४ अर्ब १२ करोड रहेको छ । जुन आव २०८०/८१ को तुलनामा १३.२५ प्रतिशतले बढी हो । आव २०८०/८१ मा आयात १५ खर्ब ९२ अर्ब ९८ करोड रहेको थियो ।
गत आवमा २ खर्ब ७७ अर्ब ३ करोडको निर्यात व्यापार रहेको छ । जुन आव २०८०/८१ को तुलनामा ८१.८० प्रतिशतले बढी हो । आव २०८०८१ मा १ खर्ब ५२ अर्ब ३८ करोड बराबरको निर्यात व्यापार रहेको थियो । नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार प्रमुख रुपमा रहेका छन् । सरकारले सहजीकरण गरेमा गलैंचाका साथै अन्य उत्पादनहरुको निकासी बढाउन सकिने गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष रामबहादुर गुरुङले बताए । गलैंचामा भ्याट लगाउने , अनुदान नदिने गर्दा समस्या देखिएको उनको भनाई छ । गलैंचाको लागि आवश्यक पर्ने कच्चा पदार्थ करिब ८० प्रतिशत आयात गर्नुपर्ने वाध्यता रहेको छ । समस्याको चाङका बाबजुद पनि नेपाली गलैंचा हातबाट निर्मित हुने हुदाँ दर्जनौं मुलुकमा निर्यात हुन्छ । नेपाली गलैंचा बढी परिमाणमा अर्जेन्टिना, अस्ट्रिया, क्यानडा लगायतका मुलुकमा निर्यात हुन्छ भने अमेरिका र युरोपेली मुलुकबाट समेत प्रशस्त माग आउने गरेको छ ।
नेपाल अलैंची व्यवसायी महासंघले अलैंची उत्पादनकर्ताहरुलाई सरकारले आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गरेमा उत्पादन बढाउन सक्ने जसले गर्दा निर्यात व्यापार राम्रो हुने बताउछ । अलैंची उत्पादनको क्रममा विभिन्न रोक प्रकोपहरुको समस्या हुन्छ भने त्यस्तै निर्यातमा समेत अवरोध हुदाँ उत्पादनकर्ताहरु निराशा हुने वातावरण रहेको भन्दै महासंघका पदाधिकारीहरुले यसको समाधान गर्न सरकार तत्पर हुनु पर्ने बताउछन् । सरकारले सहयोग गरेमा थप गुणस्तरीय उत्पादन गर्न सकिने उनीहरुको धारणा रहेको छ ।
गत आवमा कुल वैदेशिक व्यापार २० खर्ब ८१ अर्ब १५ करोड रहेको छ । जुन आव २०८०/८१ को तुलनमा १९.२४ प्रतिशतले बढी हो । आव २०८०/८१ मा कुल वैदेशिक व्यापार १७ खर्ब ४५ अर्ब ३६ करोड रहेको थियो ।

