काठमाडौँ-तराई द्रुतमार्ग निर्माणको काम समयमै सक्न प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे)को निर्माण समयमै सक्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

आइतबार सरोकारवाला पक्षसँग बालुवाटारमा छलफल गरेका प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत द्रुतमार्ग निर्माणको काम समयमै सक्न सम्बन्धित मन्त्रालय र नेपाली सेनालाई आग्रह गरिएको जानकारी दिएका हुन्।

‘काठमाडौँ–तराई/मधेश द्रुतमार्ग (एक्सप्रेसवे) हाम्रो रणनैतिक महत्त्वको सडक आयोजना हो। यसले काठमाडौँलाई १ घण्टाको समयमै तराईसँग जोड्छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘द्रुतमार्गको खोकना-डुकुछाप खण्डको निर्माणमा उत्पन्न भएका समस्याबारे हिजो राति गहन छलफल भयो। खोकना क्षेत्रको निर्माण सकिनासाथ सडक तराईसँग जोडिन्छ। वैकल्पिक उपाय अपनाएर भए पनि हामीले यसलाई सम्पन्न गर्नु पर्ने छ। सोही अनुसारको उपाय खोज्न मैले मन्त्रालय र नेपाली सेनालाई आग्रह गरेको छु। हामीसँग धेरै समय छैन।’

हिजाेकाे छलफलमा द्रुतमार्ग सडक आयोजना अन्तर्गतको प्रवेश विन्दु ललितपुरको खोकना क्षेत्रमा देखिएका समस्या समाधानको विषयमा छलफल भएकाे थियाे।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोजनाको हालको प्रवेश विन्दु कायम भएको ललितपुर महानगरपालिका–२१ खोकनाको फुडोलमा देखिएका समस्या समाधानका लागि हालसम्म प्राप्त अध्ययन र विकल्पका सुझावबारे परामर्श गरिएको प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।

छलफलमा भौतिक यातायात तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, प्रधानसेनापति अशोकराज सिग्देल, दुवै मन्त्रालयका सचिव लगायतकाे उपस्थिति थियाे।

राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको काम करिव ४० प्रतिशत मात्रै सकिएकाे छ। आगामी २०८३ चैतसम्ममा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार