वाणिज्य बैंकहरुको नाफा साढे ७१ अर्ब

काठमाडौं । अर्थतन्त्र चलयामान हुन नसक्दा पनि वाणिज्य बैंकहरुले नाफामा वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले ४३ प्रतिशतले नाफा बढाएका छन् ।

बैंकहरुले प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरुले कुल ७१ अर्ब ५१ करोड खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.३९ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल ४९ अर्ब ८७ करोड खुद नाफा कमाएका थिए । २० वाणिज्य बैंकहरु मध्ये १६ वटाले नाफा वृद्धि गर्दा ४ वटाले घटाएका छन् ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकहरुको खराब कर्जा नोक्सानीमा देखिएको सुधारका कारणले गर्दा बैंकहरुको नाफामा सुधार देखिएको नेपाल बैंकर्स संघका अधिकारीहरु बताउँछन् । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालका अनुसार राष्ट्र बैंकले नियामकीय व्यवस्थामा सहजता ल्यायो जसले् गर्दा बैंकहरुको वासलातमा सकारात्मक प्रभाव देखिएको हो ।

असार मसान्तसम्ममा सरकारले निर्माण व्यवसायीको बक्यौता भुक्तानी गरिदियो जसले गर्दा अर्थतन्त्र चलयामान बन्न पुगेको छ त्यसको सकारात्मक प्रभाव बैंक तथा वित्तीय संस्थामा परेको हो । स्थिर सरकार र विप्रेषण आप्रवाह बढ्दै जाँदा अर्थतन्त्र चलायमान हुन केही हदसम्म फाइदा पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले असल कर्जाका लागि कायम गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्थालाई १.२ प्रतिशतबाट घटाउदै १ प्रतिशत कायम गरेको छ । यसैगरी नियामकीय पुँजीअन्तर्गतको काउन्टर साइक्लिकल क्यापिटल बफरबापत बैंक तथा वित्तीय संस्थाले थप गर्नुपर्ने पुँजी आर्थिक वर्ष २०८१/८२ का लागि ० (शून्य) प्रतिशत छ । निर्माणलगायतका क्षेत्रमा प्रवाहित कर्जालाई २०८२ असारसम्म पुनर्संरचना र पुनर्तालिकीकरण गर्न सहजीकरण गरिएको थियो । मार्जिन प्रकृतिका कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाई १०० प्रतिशत कायम गरिएको छ । केन्द्रीय बैंकले बैंकहरूलाई निष्क्रिय कर्जाको भारलाई कम गर्ने सुविधा उपलब्ध गराएको छ । यस्ता विभिन्न सुविधा फाइदा बैंक तथा वित्तीय संस्थामा देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार