काठमाडौं । अरनिको राजमार्ग अन्तर्गतको कोदारीमा पहिरोले अवरुद्ध बाटो खुलाउन सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको विज्ञ टोली तातोपानी पुगेको छ। नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले दुई दिनभित्र तातोपानी नाका जोड्ने सडक सञ्चालनमा ल्याउन बुधबार निर्देशन दिएका थिए।
उक्त निर्देशनको भोलिपल्ट अर्थात बिहीबार स्थलगत अनुगमनमा महानिर्देशिक जैसीसहित विज्ञ टोली कोदारीको पहिरो खुलाउन तातोपानी पुगेको हो।
गत साउनमा आएको पहिरोका कारण कोदारी सडक खण्ड अवरुद्ध रहेको छ। कोदारी खण्डमा पाँच ठाउँमा पहिरोले सडक अवरुद्ध गरेको छ। विभागका अनुसार कोदारी खण्डमा २५ मिटरदेखि २५० मिटरसम्मको पहिरो छ। साथै केही स्थानमा १० मिटरसम्म सडक भास्सिएका छन्।
सडक विभागले पटक पटक यस खण्डको पहिरो व्यवस्थापन गरेर सडक खुलाउने प्रयास गर्दै आइरहेको छ। तर पहिरो गएको स्थान भन्दा माथि बस्ती छ। पहिरो रोकथामको कार्य अघि बढाउँदा बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले काममा विरोध गर्दै आइरहेका छन्। जसले गर्दा निर्माणकार्यमा ढिलाइ भइरहेको सडक विभागका अधिकारीहरु बताउँछन्।
मन्त्री घिसिङले बुधबार सडक विभागलाई कोदारी खण्ड खुलाउन निर्देशन दिनु अघि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष कुमार श्रेष्ठको टोली पहिरो व्यवस्थापन गरेर सडक खुलाउन मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएका थिए।

