काठमाडौं । मञ्जुश्री फाइनान्सले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । यस फाइनान्सले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो । कम्पनीको लाभांश क्षमता २६.२३ प्रतिशत भएपनि संस्थाले १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
फाइनान्स समूहमा लाभांश क्षमता भएका ४ कम्पनीमध्ये एउटाले प्रतिफल प्रस्ताव गरेको हो । अब क्षमता भएकामध्ये ३ वटाको लाभांश घोषणा हुन बाँकी छ । मञ्जुश्री फाइनान्स, आइसीएफसी फाइनान्स, मल्टीपर्पस र गुहेश्वरी मर्चेन्ट बैंकिङको मात्र लाभांश क्षमता धनात्मक छ ।
यद्दपि, ४ वटामध्ये २ वटाको प्रतिफल क्षमता २ प्रतिशत भन्दा कम छ । मल्टीपर्पस र गुहेश्वरी मर्चेन्ट बैंकिङको प्रतिफल क्षमता २ प्रतिशत भन्दा कम छ । त्यसैले यी संस्थाहरुले सम्भवत गत वर्षको नाफाबाट लाभांश नदिन पनि सक्छन् । तर, दिंदै दिंदैनन् भन्ने पनि होइन । प्रतिफल निकै न्यून हुने भएको कारण सम्भवत यी संस्थाले उक्त रकम सञ्चितमै जम्मा गर्नेछ ।
अब बाँकी रह्यो आइसीएफसी फाइनान्स, यसको लाभांश वितरण क्षमता २०.२८ प्रतिशत देखिएको छ । उक्त क्षमता डबल डिजिटमा भएको कारण यसले सेयरधनीलाई प्रतिफल दिन सक्छ । यता, सूचीकृत १५ मध्ये ११ वटा फाइनान्स कम्पनीहरुको लाभांश क्षमता ऋणात्मक छ । त्यसैले यी कम्पनीहरुले सेयरधनीलाई कुनै किसिमको प्रतिफल दिन सक्दैनन् ।

पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा बढ्दा नाफामा असर परेको छ । नाफासँगै लाभांश वितरण क्षमतामा पनि असर परेको हो । संस्थाहरुले आम्दानीको थुप्रै रकम प्रोभिजनलाई छुट्याउँदा नाफा घट्ने वा कम हुने गरेको पाइन्छ । जसको सीधा प्रभाव सेयरधनीले पाउने लाभांशमा पर्ने गरेको छ ।

