सुनको मूल्य प्रतिऔंस ४९ सय डलरसम्म पुग्ने प्रक्षेपण, यस्तो भए नेपाली बजारमा भाउ कति पुग्ला ?

काठमाडौं । विश्व बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ४६ डलरमा (यो समाचार तयार पार्दै गर्दा, ३ः४० बजे) कारोबार हुँदैछ । यो हालसम्मकै उच्च मूल्य हो । विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ बढेको छ । बुधबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

सुनको मूल्य विश्व बजारमा दैनिक जस्तो बढेको छ । त्यसैले नेपाल बजारमा पनि यो वृद्धिले निरन्तरता पाएको हो ।

सुनको भाउमा यसरी वृद्धि आएसँगै विश्वका प्रसिद्ध बिजनेस तथा लगानी फर्म साथै, विश्लेषकहरुले यो वृद्धिले निरन्तरता पाउने विश्लेषण गरेका छन् । अमेरिकाका बैंकहरुले पनि आगामी दिन सुन प्रतिऔंस करिब ५ हजार डलरसम्म पुग्ने अनुमान गरेका छन् ।

यदि विश्लेषकहरुले भने जस्तै सुनको भाउ करिब ५ हजार डलर पुग्यो भने नेपाली बजारमा यसको मूल्य प्रतितोला करिब ३ लाख रुपैयाँ (यदि करको  दरमा हेरफेर गरिएन भने) पुग्ने देखिन्छ ।

विश्व प्रसिद्ध अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्सले सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस ४ हजार ९०० अमेरिकी डलरसम्म पुग्ने सम्भावना औंल्याएको छ । यसअघि यसले यो बैंकले ४ हजार ३०० डलर पुग्ने लक्ष्य राखेको थियो । यसअर्थ सुनको मूल्य दीर्घकालीन रुपमा अझै बढ्न फर्मको पक्षेपण छ ।

त्यस्तै, जे पी मोर्गनले सन् २०२५ को औसत मूल्य ३ हजार ६७५ डलर रहने र सन् २०२६ मा ४ हजार डलरसम्म पुग्ने अनुमान गरेको थियो । र, यसले गरेको विश्लेषण अहिले मिलिसकेको छ ।

विशेषज्ञहरूका अनुसार सुनको मूल्य वृद्धि हुने मुख्य कारणहरूमा केन्द्रीय बैंकहरूको सुन खरिद, ETF (Exchange Traded Fund) मा लगानीको वृद्धि, अमेरिकी फेडरल रिजर्भको ब्याजदर कटौतीको सम्भावना र वैश्विक राजनीतिक तथा आर्थिक अनिश्चितता पर्दछन् । यसमा रुस-युक्रेन युद्ध, मध्यपूर्वका संघर्ष, र अमेरिकी सरकारको सम्भावित शटडाउन जस्ता घटनाहरुले सुरक्षित लगानीको रुपमा सुनको माग बढाएको विश्लेषकहरुले बताएका छन् ।

यता, InvestingHaven ले अझ दीर्घकालीन दृष्टिले सुनको मूल्य २०३० सम्म प्रतिऔंश ५ हजार १५५ डलरसम्म पुग्ने भविष्यवाणी गरेको छ । यसले सुन दीर्घकालीन रुपमा लगानीकर्ताका लागि अझ आकर्षक सम्पत्ति बन्न सक्ने देखाएको छ ।

सुन आजको विश्व अर्थतन्त्रमा केवल विलासिताको वस्तु होइन, बरु अस्थिर बजारमा लगानीकर्ताको “सुरक्षित बन्दरगाह” बनेको छ । Goldman Sachs, J.P. Morgan, RBC Capital Markets र InvestingHaven जस्ता प्रमुख विश्लेषकहरूले दिएको पूर्वानुमानअनुसार सुनको मूल्य दीर्घकालीन रुपमा बढ्ने सम्भावना बलियो छ ।

यद्दपि, सुनको भाउ बढ्छ भनेर नै ठोकुवा भने गर्न  सकिंदैन । साथै, छोटो अवधिमा मूल्यमा उतार-चढाव आउन सक्ने भएकाले लगानीकर्ताले दीर्घकालीन रणनीति र जोखिम व्यवस्थापनमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार