२ महिनामा भित्रियो ३ खर्ब ५२ अर्ब रेमिटेन्स, विदेशी विनिमय सञ्चिति २८ खर्ब ८१ अर्ब पुग्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना अर्थात, भदौमा ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ बराबर रेमिटेन्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.१ प्रतिशत धेरै हो । भदौ महिनामा मात्रै १ खर्ब ७४ अर्ब ६७ करोड रेमिटेन्स आएको छ ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.३८४ अर्ब ८८ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.२८७ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ९०,१९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५,८८४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो  सङ्ख्या क्रमशः ७६,४८५ र ४०,५८३ रहेको थियो ।

यता, समीक्षा अवधिमा चालु खाता रु.१३० अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५४ अर्ब ४१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ९३ करोडले बचतमा रहेको छ ।

असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भई भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गएको असारमसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ भदौ मसान्तमा ४.७ प्रतिशतले वृद्धि भई २० अर्ब ४१ करोड पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार