नेपालीको लगानी रहेको फ्युजमेशिन्स ‘नास्डाक’मा सूचीकृत

काठमाडौं । नेपाली उद्यमी डा. समीर मास्के द्वारा स्थापित र नेपालीको लगानी रहेको कृत्रिम बौद्धिकता (AI) कम्पनी Fusemachines Inc. ले बिहीबारदेखि अमेरिकी सेयर बजार नास्डाक (NASDAQ) मा आफ्नो साधारण सेयरहरुको कारोबार सुरु गरेको छ।

यो उपलब्धि कम्पनीका लागि मात्र नभई विश्वव्यापी प्रविधि क्षेत्रमा नेपाली उद्यमशीलताको ऐतिहासिक पहिचानका रुपमा पनि हेरिएको छ । कम्पनीले यस सूचीकृत भएर आफ्नो “AI सबैका लागि” (Democratize AI for All) भन्ने दृष्टिकोणलाई अझ विश्वव्यापी स्तरमा विस्तार गर्ने बताएको छ ।

कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) डा. समीर मास्केले भने, “सानो, लक्ष्य–केन्द्रित टिमबाट सुरु भएको हाम्रो यात्रा आज नास्डाकमा सार्वजनिक सूचीकरणसम्म आइपुगेको छ। यो हाम्रो नवप्रवर्तन र कार्यान्वयनमा रहेको अटल प्रतिबद्धताको प्रमाण हो। अब हामी अनुशासित वृद्धि, रणनीतिक लगानी र शेयरधनीहरूको दीर्घकालीन मूल्य सृजनामा केन्द्रित नयाँ अध्याय सुरु गर्दैछौं।”

कम्पनीले नास्डाक सूचीकरणबाट प्राप्त रकम आफ्नो वित्तीय स्थिति सुदृढ गर्न, नयाँ उत्पादन तथा सेवा नवप्रवर्तनमा लगानी गर्न, र ग्राहक विस्तार तथा बजार सञ्जाल बलियो बनाउन प्रयोग गर्ने योजना बनाएको छ। साथै, कम्पनीले रणनीतिक साझेदारी र मर्जर–एक्विजिसन (M&A) अवसरहरू खोज्दै आफ्नो प्रविधि पोर्टफोलियो र बजार उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको छ।

सन् २०१३ मा डा. मास्केले स्थापना गरेको Fusemachines अहिले विश्वका प्रमुख एआई समाधान प्रदायक कम्पनीहरूमध्ये एक बनिसकेको छ। कम्पनीका शाखा कार्यालयहरू उत्तर अमेरिका, एशिया (नेपाल सहित) र ल्याटिन अमेरिकामा रहेका छन् । Fusemachines ले स्वास्थ्य, वित्त, खुद्रा व्यापार, उत्पादन, र सरकारी क्षेत्रका लागि एआई आधारित प्रविधि समाधान प्रदान गर्दै आएको छ।

कम्पनीले आफ्नै प्रविधि प्लेटफर्महरू AI Studio र AI Engines मार्फत विश्वभरका व्यवसायहरूलाई “AI Enterprise Transformation” मा सहयोग गर्दै आएको बताइएको छ। फ्युजमेशिन्सको नास्डाक प्रवेशले विश्व बजारमा यसको विश्वसनीयता र पहुँच विस्तार गरेको छ। विशेषज्ञहरूका अनुसार, यो सूचीकरणले नेपाली प्रविधि प्रतिभा र लगानीको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

 

स्रोत ः याहु फाइनान्स

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार