काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् ।
यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको गैरबैकिङ सम्पत्तिमा अत्याधिक बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति ५० अर्ब ७५ करोड २० लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा १३ अर्ब ७४ करोड ३० लाख रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको गैरबैंकिङ सम्पत्ति ३७ अर्ब ७० करोड ९० लाख रुपैयाँ रहेको थियो ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले घरजग्गामा प्रवाह गरेको कर्जा उठ्न नसक्दा ती संस्थाहरुमा गैरबैंकिङ सम्पत्ति बढ्न पुगेको विज्ञहरु बताउछन् । विज्ञहरुका अनुसार सरकार तथा राष्ट्र बैंकलाई घरजग्गा अनुत्पादक क्षेत्र रहेको र लगानी गर्न सुझाव दिदाँ अटेर गरेको परिणामा स्वरुप गैरबैंकिङ सम्पत्ति हरेक बैंक तथा वित्तीय संस्थाहरुमा थुप्रिन पुगेको हो । बैंकहरुको निष्क्रिय कर्जामा वृद्धि देखिए सँगै गैरबैंकिङ सम्पत्ति समेत बढेको विज्ञहरु बताउँछन् ।
समीक्षा अवधिमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति आर्जन गर्नेमा वाणिज्य र्बैंक, विकास बैंक र वित्त कम्पनी रहेका छन्, यसो हुनमा भने उनीहरुको चुक्ता पूँजीको आकारले गर्दा पनि हो । चालु आवको दुई महिनामा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ४२ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनमा गैरबैंकिङ सम्पत्ति ११ अर्ब ५३ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकको गैरबैंकिङ सम्पत्ति ३१ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको दुई महिनामा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ४ अर्ब २९ करोड १० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १८ करोड रुपैयाँले गैरबैंकिङ सम्पत्ति बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ३९ करोड ३० लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको दुई महिनामा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति ३ अर्ब ६ करोड ९० लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा गैरबैंकिङ सम्पत्ति १ अर्ब ३ करोड ३० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षमा वित्त कम्पनीहरुको गैरबैंकिङ सम्पत्ति २ अर्ब ३ करोड ६० लाख रुपैयाँ रहेको थियो ।
बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्नु पर्ने वाध्यताका कारण गैरबैकिङ सम्पत्ति बढेको हो । सकारेपछि यस्तो सम्पत्ति सकेसम्म चाँडै बिक्री गर्नुपर्ने नियम रहेको छ भने त्यसो गर्न नसकेको अवस्था अहिलेका बैंक तथा वित्तीय संस्थामाथि रहेको छ । अर्कोतर्फ गैर–बैंकिङ सम्पत्ति सकार गरेकै समयबाट बैंकहरूले यसको जोखिमबाट बच्न शत प्रतिशत बराबर रकम प्रावधानमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

