CLI
Global College

जेलेन्स्कीको आग्रह– “युरोपको निरन्तर सहयोग बिना लडाइँ कठिन”

किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसी सेनासँगको युद्ध अझै दुईदेखि तीन वर्षसम्म लम्बिन सक्ने भन्दै युरोपेली देशहरूसँग स्थिर आर्थिक सहयोगको माग गरेका छन् । उनका अनुसार, युक्रेनले सन् २०२२ फेब्रुअरीमा सुरु भएको पूर्ण रुसी आक्रमणपछि विदेशी सैन्य र आर्थिक सहयोगकै भरमा आफ्नो प्रतिरक्षा जारी राखिरहेको छ ।

“मैले सबै युरोपेली नेताहरूसँग स्पष्ट रूपमा भनेको छु — हामी दशकौँसम्म युद्ध लड्ने होइनौँ, तर केही वर्षका लागि युक्रेनलाई स्थिर आर्थिक आधार प्रदान गर्न उनीहरूले प्रतिबद्धता देखाउनुपर्छ”, उनले मङ्गलबार जारी गरेको वक्तव्यमा भने, “यही कारणले उनीहरूको सोचमा अहिले २–३ वर्षको योजना रहेको छ ।”

युरोपेली सङ्घ (इयु) का नेताहरूले गत हप्ता युक्रेनका लागि थप दुई वर्षका आर्थिक सहयोगका विकल्पहरू अघि बढाउन युरोपेली आयोगलाई निर्देशन दिएका थिए । यस योजनाअन्तर्गत रुसका फ्रिज गरिएका सम्पत्तिबाट प्राप्त हुने दशौँ अर्ब युरो युक्रेनको पुनर्निर्माण र प्रतिरक्षा दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिनेछ ।

“यदि युद्ध चाँडै सकियो भने त्यो पैसा पुनर्निर्माणमा खर्च हुनेछ, तर यदि युद्ध जारी रह्यो भने हामी त्यसलाई हतियार खरिदमा प्रयोग गर्नेछौँ—हामीसँग अरू विकल्प छैन”, उनले स्पष्ट पारे ।

जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङमाथि रुसप्रतिको समर्थन घटाउन दबाब दिन आग्रह गरेका छन् ।  “यदि ट्रम्पले चीनलाई रूसबाट आयात घटाउन प्रेरित गर्नुभयो भने, त्यो निर्णायक कदम हुनेछ”, उनले पत्रकारहरूसँग भने ।

ट्रम्पले हालै दुई प्रमुख रुसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाउँदै चीन र भारतलाई रुसबाट तेल किन्ने मात्रा घटाउन आग्रह गरे, जुन अमेरिकी पक्षले मस्कोको युद्ध खर्चलाई सहयोग गर्ने स्रोत बताउँदै आएको छ । युद्ध चौथो वर्षमा प्रवेश गर्दा रुसले केही क्षेत्रमा प्रगति गरिरहेको अवस्थामा जेलेन्स्कीले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा रूसी सेनाले बलियो पकड जमाएको स्वीकार गरेका छन् ।

“करिब २०० रुसी सैनिक त्यहाँ विभिन्न स्थानमा देखिएका छन् । पोक्रोभस्क अहिले रुसको मुख्य लक्ष्य बनेको छ”, उनले भने ।

एएफपी

Leave Your Comment

Related News