काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले विभिन्न समयमा गरी १३० खर्ब बढी तरलता बढी प्रशोचन गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु. ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२३ खर्ब ६१ अर्ब ३० करोड गरी कुल रु.१३० खर्ब ७५ अर्ब ९५ करोड (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद रु. ७८ खर्ब ३३ अर्ब ४० करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ८६ करोड खुद खरिद गरी रु.२६२ अर्ब १४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ४७ करोड खुद खरिद गरी रु.१९६ अर्ब ७९ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब १२ करोड बिक्री गरी रु.१५८ अर्ब ७ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ८६ करोड बिक्री गरी रु.११५ अर्ब ६६ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

