काठमाडौं । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०८१ / ८२ को वार्षिक प्रतिवेदन अर्थमन्त्री खनालसमक्ष पेस गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रमका बीच गभर्नर पौडेलले उक्त प्रतिवेदन पेस गरेका हुन्। तीन वटा खण्डमा विभाजित उक्त प्रतिवेदनको पहिलो प्रतिवेदनको पहिलो खण्डमा आर्थिक वर्ष २०८१ / ८२ को समष्टिगत आर्थिक तथा वित्तीय स्थितिलाई समेटिएको छ । दोस्रो खण्डमा बैंकका कामकारबाहीको विवरण र तेस्रो खण्डमा बैंकको गत आर्थिक वर्षको वित्तीय विवरणलाई प्रस्तुत गरिएको छ । वित्तीय विवरणमा गत आर्थिक वर्षको अन्तिम लेखापरीक्षणका विवरणलाई समेटिएको छ ।
प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ को विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्गन लाभ / हानि समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ८.११ प्रतिशतले वृद्धि भई .८० अर्ब ४८ करोड २६ लाख ५० हजार कायम भएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिको मिति २०८२ कात्तिक २८ को बैठकले बैंकका विभिन्न कोषहरूमा छुट्टयाउनुपर्ने आवश्यक रकम विनियोजन गरी बाँकी रकम ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ । २०८२ असार मसान्तको वित्तीय स्थितिको विवरणअनुसार बैंकको सम्पत्ति तथा दायित्व २०८१ असार मसान्तको तुलनामा २८.२३ प्रतिशतले बद्धि भई २६ खर्च ७ अर्ब २३ करोड ८५ लाख ४० हजार पुगेको प्रतिवेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८१ मा ‘बैंकले वासलात, आय व्यय र सोसँग सम्बन्धित विवरण वार्षिक प्रतिवेदन तयार गर्नुपर्ने र आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष उक्त प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ । साथै ऐनको दफा ८३ (१) मा बैंकको लेखापरीक्षण, बैंकका कामकारवाही र आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था रहेको छ ।

