काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले आन्दोलनको दुःखद् घटनापछि आफू अघि बढ्ने हिम्मत गरेको बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी गुरुङले यस्तो बताएका हुन् ।
उनले आन्दोलन जस्तो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गर्नुमा म मा जिम्मेवारी छ, बैंकको लगानी रहेको बताए ।
‘अहिले जेनजीले दुई दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो,’ उनले भने ,‘ दशैँ,तिहार, छठ आउँदै गरेकाले ठूलो स्टक राखेका थियौँ । यो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गरेको छु, म अघि बढ्छु, कारण के भने म मा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आवद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ, त्यो भन्दा ठूलो मेरो देश छ । हामी अलि विपन्न भएको कारणले नै यो विभिन्न समयमा आन्दोलन भइरहेको हो ।’
व्यवसायी गुरुङले गरेको सम्बोधन
गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले दुई दिनमै सत्ता उलटपुलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो । दशैँ,तिहार, छठ आउँदै गरेकाले ठूलो स्टक राखेका थियौँ । यो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गरेको छु, म अघि बढ्छु, कारण के भने म मा जिम्मेवारी छ, बैंकको लगानी छ, मसँग आवद्ध हजारौँ भाइबहिनी हुनुहुन्छ, त्यो भन्दा ठूलो मेरो देश छ । हामी अलि विपन्न भएको कारणले नै यो विभिन्न समयमा आन्दोलन भइरहेको हो । आन्दोलन हुनुको पछि हामी जिम्मेवार नहुनु पनि होला । हामी जिम्मेवार भएर देश विकासमा लाग्नुपर्छ । हाम्रो घर कमजोर भयो भने वल्लो घर, पल्लो घरकाले आएर राज गर्न थाल्छन् । जुन घटना भयो यो, १२ वटा भाटभटेनी सखाप नै भए । अरु धेरैमा लुटपाट भए । अब यस्तो घटना हुँदैन होला र सबैले वोध गर्दछन् भन्ने विश्वास छ ।
भाटभटेनिमाथि किन आक्रमण भयो भन्दा कुनै पार्टीलाई भवन बनाइदिने भयो भनेर रे । भाटभटेनीको मूल आफ्नो ट्याक्स पे गरिसकेपछिको पैसा उसले दान गर्न चाहन्छ, त्यही भएर डा। भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल हामीले यही मंसिरमा उद्घाटन गरेर बालबालिका राख्ने सोचमा थियौँ, आन्दोलनले केही ढिला भयो । नेपालमा करोडौँ दिनेकुरा नौलो कुरा हो । विभिन्न जिल्लाका विपन्न व्यक्तिहरुका बालबालिकालाई मैले एमबीबिएस पढाएको छु । टिचिङ अस्पतालमा पनि राम्रै सहयोग गरेका छौँ । भवन बनाइदिएका छौँ । अहिले पार्टीलाई भवन बनाइदियो भन्ने छ । मेरो आफ्नो पर्सनल कुरा हो । सबै पार्टीलाई तपाईंहरु सुध्रिनुस् हामी सहयोग गर्छौं भनेको छु । मूल कुरा पार्टी जस्तो लागेको थियो, अहिले अब जेनजी रहेछ । १० जनासँग किन माग्नु म एक्लैले दिइहाल्छु नि भनेर दिएको हो । त्यसका खातिर यो भोग्नुपर्यो । मैले उहाँहरुसँग लिने होइन, दिने मात्रै हो ।

