वाणिज्य बैंकको कुल सम्पत्ति तथा दायित्व ८१ खर्ब पुग्यो, कस्तो छ निक्षेप, लगानी र कर्जाको अवस्था ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको कुल सम्पत्ति तथा दायित्व १२ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको कुल सम्पत्ति / दायित्व १२ प्रतिशत (रु.८६७ अर्ब ७८ करोड) ले वृद्धि भई रु.८० खर्ब ९५ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो सम्पत्ति / दायित्व १२.९ प्रतिशत (रु.८२४ अर्ब २९ करोड) ले बढेको थियो ।

आर्थिक वर्ष २०८१/८२ मा वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १३.७ प्रतिशत (रु.७८४ अर्व ८७ करोड) ले वृद्धि भई २० खर्ब ८२ असार मसान्तमा रु.६५ खर्ब ३१ अर्ब ८७ करोड पुगेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकहरूको कुल निक्षेप परिचालन १३.३ प्रतिशत (रु.६७४ अर्ब ७७ करोड) ले बढेको थियो । समीक्षा वर्षमा वाणिज्य बैंकहरूको चल्ती तथा बचत निक्षेप क्रमशः ३८.९ प्रतिशत र ३६.५ प्रतिशतले बढेको छ भने मुद्दती निक्षेप २.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष चल्ती निक्षेप १६.० प्रतिशतले घटेको थियो भने बचत र मुद्दती निक्षेप क्रमशः २८.२२९.७ प्रतिशतले बढेको थियो ।

वाणिज्य बैंकहरूको कर्जा तथा लगानी समीक्षा वर्षमा ७२ प्रतिशत (रु.४२४ अर्ब ६१ करोड) ले वृद्धि भई २०८२ असार मसान्तमा रु.६२ खर्ब ९५ अर्व ६५ करोड पुगेको छ । अघिल्लो वर्ष वाणिज्य बैंकहरूको कर्जा तथा लगानी ७७ प्रतिशत (रु. ४१९ अर्ब ७७ करोड) ले वृद्धि भएको थियो । समीक्षा वर्षमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशत (रु.३८६ अर्ब ३ करोड) ले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो कर्जा ५.८ प्रतिशत (रु.२४६ अर्ब ९५ करोड) ले वृद्धि भएको थियो । २०८२ असार मसान्तमा वाणिज्य बैंकहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा र कुल गार्हस्थ्य उत्पादनको अनुपात ७९.९ प्रतिशत कायम भएको छ ।

२०८२ असार मसान्तमा वाणिज्य बैंकहरूबाट तोकिएका प्राथमिकता प्राप्त क्षेत्रमा प्रवाहित कर्जा कुल कर्जाको ३३.२६ प्रतिशत रु.१६ खर्ब १ अर्ब ८७ करोड पुगेको छ । यसअन्तर्गत कृषि क्षेत्रतर्फ १३.६ प्रतिशत र गैर–कृषि क्षेत्रमा १९.६ प्रतिशत कर्जा प्रवाहित भएको छ ।

समीक्षा वर्षमा वाणिज्य बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानी १.५ प्रतिशत (रु.१५ अर्ब ५८ करोड ) ले बढेर २०८२ असार मसान्तमा रु.१० खर्ब ३१ अर्ब १८ करोड कायम भएको छ । अघिल्लो वर्ष उक्त लगानी रु.१ खर्ब २४ अर्ब ७८ करोडले बढेको थियो ।

२०८२ असार मसान्तमा वाणिज्य बैंकहरूको तरल सम्पत्ति (सरकारी ऋणपत्रमा गरिएको लगानीसहित) रु.१७ खर्ब ४७ अर्व १० करोड रहेको छ । यस्तो सम्पत्ति कुल निक्षेपको २६.७१ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष उक्त अनुपात २७.४ प्रतिशत रहेको थियो । तरल सम्पत्तिका अंशहरूमध्ये समीक्षा अवधिमा तरल कोष २८.४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरूको विदेशी बैंक मौज्दात ३६.८ प्रतिशत (रु.६९ अर्ब ६३ करोड ) ले बढेर २०८२ असार मसान्तमा रु.२ खर्ब ५८ अर्ब ८७ करोड कायम भएको छ भने नेपाल राष्ट्र बैंकमा रहेको मौज्दात ३३.६ प्रतिशत (रु.९१ अर्ब ५५ करोड ) ले बढेर रु.३ खर्ब ६३ अर्ब ८५ करोड कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार