काठमाडौं । लगानी समूहका कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ८८ करोड १० लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १९.५८ पतिशत कम हो । गत वर्षको असोजसम्म १ अर्ब ९ करोड नाफा कमाएका थिए ।
कम्पनीहरुको कुल आम्दानी १९.१६ प्रतिशतले घटेर १ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ । गत वर्ष उक्त आम्दानी १ अर्ब ७१ करोड थियो । आम्दानी घट्दा नाफामा दबाब परेको हो । समग्रमा ५७ अर्ब १० करोड १३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको लगानी समूहका कम्पनीहरुको जगेडा कोषमा ३१ अर्ब ८९ करोड रुपैयाँ जगेडा कोषमा जम्मा छ ।
चुक्ता पुँजी र जगेडा कोष
सबैभन्दा धेरै चुक्ता पुँजी एचआइडीसीएलको रहेको छ । यसको पुँजी २४ अर्ब ५५ करोड रुपैयाँ बराबरको छ । निफ्राको २१ अर्ब ६० करोडको पुँजी छ । समग्रमा लगानी समूहका कम्पनीहरुको चुक्ता पुँजी ५७ अर्ब १० लाख रुपैयाँ बराबरको छ । यता, जगेडा कोषमा भने नागरिक लगानीको कोषको २० अर्ब २४ करोड जम्मा छ । निफ्राको ४ अर्ब ३१ करोड र एचआइडीसीएलको ३ अर्ब ८१ करोड जगेडा कोषमा रहेको छ ।

कुल आम्दानी
नागरिक लगानी कोषको कुल आम्दानी ५३ करोड ७२ लाख रुपैयाँ छ । निफ्राको ३७ करोड ३० लाख रुपैयाँ आम्दानी देखिएको छ । समग्रमा कम्पनीहरुको कुल आम्दानी १ अर्ब ३८ करोड छ । यो गत वर्षको भन्दा १९.१६ प्रतिशत कम हो ।

नाफा
नागरिक लगानी कोषको नाफा ३१ करोड ४३ लाख रुपैयाँ छ । यता, निफ्राले ३ महिनामा २० करोड ८५ लाख नाफा आर्जन गरेको देखिएको छ । समग्रमा कम्पनीहरुले ८८ करोड १० लाख नाफा कमाएका छन् । इमर्जिङ नेपालले भने घाटा व्यहोरेको छ ।

प्रतिसेयर आम्दानी
सबैभन्दा धेरै प्रतिसेयर आम्दानी सीइडीबी होल्डिङ्सको देखिएको छ । यसको इपीएस ६०.५५ रुपैयाँ छ । नागरिक लगानी कोषको प्रतिसेयर आम्दानी १९.४० रुपैयाँ छ ।


