आयात निर्यातको पहिलो नम्बरमा भटमास तथा भटमासको तेल

काठमाडौं । आयातित कच्चा पदार्थमा निर्भर वैदेशिक व्यापारको कारण आयात र निर्यात दुवैको पहिलो नम्बरमा भटमास अर्थात् भटमासको तेल रहेको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुरुप कच्चा पदार्थको रुपमा सबैभन्दा धेरै आयात रकम बराबरको भटमास आयात गरिएको छ । भने निर्यात रकममा सबैभन्दा धेरै रकम बराबरको भटमासको तेल निर्यात गरिएको छ ।

विभागको चालु आर्थिक वर्षको पहिलो चार महिनाको तथ्यांक हेर्दा सबैभन्दा धेरै रकमको भटमासको तेल, अलेंची, गलैँचा र सूर्यमूखी तेललगायतका सामग्री निर्यात भएको छ । चार महिनाको अवधिमा भटमासको तेल ३८ अर्ब ४३ करोड तीन लाख, अलैंची तीन अर्ब ९७ करोड ४३ लाख, गलैँचा तीन अर्ब २६ करोड ४० लाख र सूर्यमूखी तेल दुई अर्ब ७३ करोड २८ लाखबराबरको निर्यात गरिएको छ ।

सोही अवधिमा जुटजन्य सामग्री दुई अर्ब १५ करोड २४ लाख, पाम तेल दुई अर्ब छ करोड ५० लाख, यार्न एक अर्ब ७६ करोड ३६ लाख र जुस एक अर्ब ५४ करोड ९० लाखबराबरको निर्यात गरिएको छ । पस्मिनाको सल एक अर्ब ४१ करोड ३३ लाख, चिया एक अर्ब ३८ करोड ३४ लाख र कुकुर र बिरालोको आहारा एक अर्ब तीन करोड ५७ लाखबराबरको निर्यात गरिएको छ ।

समीक्षा अवधिमा सबैभन्दा धेरै मूल्यबराबरको भटमास, पेट्रोलियम पदार्थ, मोबाइल र सुनलगायतका सामग्री आयात गरिएको छ । चालू आवको चार महिनामा भटमास ३७ अर्ब ९६ करोड ४२ लाख, डिजेल ३१ अर्ब ८९ करोड १५ लाख, पेट्रोल २२ अर्ब ३७ करोड २७ लाख र खाना पकाउने एलपीजी ग्यास १८ अर्ब आठ करोड ३६ लाखबराबरको अयात गरिएको छ । सोही अवधिमा फलामजन्य सामग्री १७ अर्ब पाँच करोड २९ लाख, मोबाइल १६ अर्ब १५ करोड १८ लाख, सुन १५ अर्ब ७२ करोड ११ लाख, रासायनिनक मल सात अर्ब ४९ करोड ७९ लाखबराबरको आयात गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार