काठमाडौं । गएको अक्टोबर महिनाको सुरुवातदेखि विश्व क्रिप्टो बजारमा देखिएको तीव्र गिरावटले लगानीकर्तालाई थप अनिश्चितता र त्रासको वातावरणमा धकेलेको छ । बजार विश्लेषकहरुले यसपटकको गिरावट कुनै एक कारणको परिणाम मात्र नभएको बताउँछन् । विश्व आर्थिक परिस्थिति, लिभरेजमा आधारित कारोबार, तरलताको अभाव, तथा नकारात्मक बजार–मनोविज्ञान एकसाथ सक्रिय हुँदा बजार निरन्तर घटिरहेको छ ।
गएको अक्टोबर १० मा इतिहासकै ठूलो लिक्विडेसन भएको पुष्टि भएको छ। जसमा विश्वभरका क्रिप्टो एक्सचेन्जबाट करिब १९ अर्ब डलर बराबरको leveraged पोजिसन एकैदिनमा ध्वस्त भएको रिपोर्ट गरिएको थियो । बजारको गिरावट मुख्यतः विश्व आर्थिक वातावरणले निर्माण गरेको जोखिम विमुख स्थितिबाट सुरु भएको देखिन्छ ।
अमेरिका र अन्य प्रमुख अर्थतन्त्रहरुले ब्याजदर थप वृद्धि गर्ने संकेत दिएपछि सुरक्षित सम्पत्तिहरु, जस्तै सरकारी बन्ड र बैंक डिपोजिट, फेरि लगानीकर्ताको प्राथमिकता बने । जोखिमयुक्त मानिने क्रिप्टो सम्पत्तिहरुबाट पुँजी बाहिरिन थालेपछि बजारमा खरिद कमजोर भयो र मूल्य स्वाभाविक रुपमा झर्न थाल्यो ।
यसैबीच, चीन र संयुक्त राज्य अमेरिका बीच बढ्दै गएको व्यापार तनाव र भन्सार–नीति सम्बन्धी कडाइले विश्व बजारमा अतिरिक्त अनिश्चितता थपिएको थियो, जसको प्रभाव सबैभन्दा पहिले क्रिप्टो जस्ता अस्थिर बजारमा पर्यो । यस विषयमा क्वाइनडेक्सले १० अक्टोबरमा उल्लेखनीय प्रतिक्रिया प्रकाशित गरेको थियो । जसअनुसार राजनीतिक र आर्थिक तनावले बिटक्वाइन मूल्यलाई एकैदिनमा १ लाख १० हजार डलर तल झारिदियो ।
क्रिप्टो बजारमा ट्रेडरहरुले उच्च ऋण लिएर सानो मूल्य–परिवर्तनबाट ठूलो नाफा कमाउने रणनीति अपनाउँछन् । तर जब बजार उकालोबाट एकाएक ओरालो लाग्छ तब मार्जिन कल आउने हुँदा ऋणमा लिएर खोलेका पोजिसनहरु जबरजस्ती बन्द हुन थाल्छन् । अक्टोबर १० को तीव्र गिरावटको क्षणमा यही लिक्विडिसन क्यासकेड सुरु भयो । जसले बजारलाई थप दबाबमा पार्दै मूल्यलाई झन तल धकेल्यो ।
इन्भेष्टिङ डटकमले त्यसदिनको बजार अवस्थाबारे विस्तृत विश्लेषण प्रकाशित गर्दै, तरलता अभाव र अचानक बढेको बिक्री–दबाबले गिरावटलाई कति तीव्र बनायो भनेर प्रकाश पारेको थियो । यसपटकको बजार गिरावटको अतिरिक्त कारक एक्सचेन्ज–ट्रेडेड फन्डमा देखिएको ठूलो धनबहिर्गमन थियो ।
वर्षभर क्रिप्टो बजारलाई स्थिर राख्न सहयोग पुर्याएको संस्थागत लगानी अक्टोबरमा कमजोर हुन थाल्यो। विशेषगरी बिटक्वाइन ETF बाट नाफा सुरक्षित गर्न चाहने लगानीकर्ताहरुले पैसा निकाल्न थालेपछि बजारमा रहेको मूलभूत माग (base demand) कमजोर हुँदै गयो ।
बजारमा ठूला लगानीकर्ताको उपस्थिति घटेपछि सामान्य लगानीकर्ताको आत्मविश्वास पनि घट्यो, र बजार बिक्री बढ्यो । यसैबीच, बिजनेस इन्साइडरले अक्टोबरदेखि नोभेम्बरसम्मको अवधिमा मात्र विश्व क्रिप्टो बजार पूँजीकरणबाट १ ट्रिलियन डलरभन्दा बढी मूल्य सम्पति घटेको पुष्टि गरेको छ, जुन गिरावटको गम्भीरतालाई झनै स्पष्ट पार्छ।
मनोवैज्ञानिक कारणले पनि बजारलाई नराम्ररी प्रभावित पारेको देखिन्छ। सोसल मिडिया तथा ट्रेडिङ समुदायमा अझै बजार तल्लो बिन्दुतर्फ लैजानेछ भन्ने अनुमान द्रुत रुपमा फैलन थालेपछि प्यानिक सेलिङ बढ्यो ।
मूल्य झर्दै जाँदा डर झनै बढ्ने र डर बढ्दै जाँदा मूल्य झनै झर्ने चक्रले बजारलाई पुनःस्थिर हुन नदिएको विश्लेषकहरु बताउँछन्। सामान्य लगानीकर्ताले डिपमा खरिद गर्ने प्रवृत्ति कम हुँदा बजारले कुनै पनि स्तरमा बलियो समर्थन पाउन सकेन ।
यसबाहेक, साना तर अत्यधिक जोखिमयुक्त टोकनहरु सबैभन्दा धेरै प्रभावित भए । तरलता कम हुने, बजारको समर्थन कमजोर हुने तथा संस्थागत लगानीकर्ताले सुरक्षित विकल्प रोज्ने प्रक्रिया जारी रहँदा अल्टकोइनको मूल्य ३०% देखि ७०% सम्म घटेको रिपोर्ट आएको छ। फाइनान्सियल कन्टेन्टले यसलाई “अक्टोबर २०२५ को ग्रेट मार्केट डाइभर्जेन्स” नाम दिंदै, सेयर बजार स्थिर हुँदा क्रिप्टो बजार झनै धरासायी भएको उल्लेख गरेको थियो ।
आजको मितिसम्म बजारमा केही सुधारका संकेतहरु देखिए पनि विश्लेषकहरु यसलाई अस्थायी मात्र हुनसक्ने चेतावनी दिएका छन् । न त ब्याजदर स्थिर भएको छ, न ETF मा इनफ्लो बढ्न थालेको छ, न त विश्व आर्थिक तनाव कम भएको छ ।
बजार पूर्ण रुपमा उकासिनका लागि नयाँ प्रविधिक नवप्रवर्तन, स्थिर नियामक वातावरण, र लगानीकर्ताको भरोसा पुनःस्थापना आवश्यक पर्ने विश्लेषकहरुको टिप्पणी छ । तर तत्काल भविष्यमा क्रिप्टो बजार अझै उतार–चढावपूर्ण रहने ठूलो सम्भावना छ । अक्टोबरमा १ लाख २५ हजार डलरसम्म पुगेको बिट्क्वाइनको भाउ अहिले घटेर ९१ हजार डलर वरपर कारोबार हुँदैछ । यो छोटो समयमा ठूलो अंकको गिरावट हो । त्यस्तै, अरु क्रिप्टोकरेन्सीहरु पनि घटेका छन् ।

