काठमाडौं । राष्ट्रिय व्यवसायिक पहल (NBI) र यूएनडीपीको संयुक्त आयोजनामा “व्यवसाय र मानव अधिकार (B+HR) को राष्ट्रिय कार्ययोजना कार्यान्वयन” विषयक कार्यक्रम सम्पन्न भएको छ । मुख्य अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिल कुमार सिन्हाले B+ HR लाई नैतिक विषय मात्र नभई अत्यावश्यक आर्थिक रणनीति हुनुपर्नेमा जोड दिए ।
उनले भने, “हालैको आन्दोलनले सार्वजनिक र निजी क्षेत्रबीचको सम्बन्ध, सुशासन र जवाफदेहितामा रहेका संरचनागत कमजोरीहरू उजागर गरेको छ ।” मन्त्री सिन्हाले निजी क्षेत्रलाई आह्वान गर्दै भने, “राजनीतिक चन्दा र भ्रष्टाचारमा संलग्न नहुनुहोस्, युवालाई रोजगारी दिनुहोस्, मुनाफा आर्जन गर्नुहोस् तर सामाजिक उत्तरदायित्त्व वहन गर्नुहोस्।”
विशिष्ट अतिथि माननीय अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई सरकारले नै अनुशरण गर्न सक्ने खालको सुशासनको उदाहरण बन्न चुनौती दिए । “अहिलेको अवस्थामा जनमानसमा उत्पन्न असन्तुष्टि केवल सरकारी भ्रष्टाचारप्रति मात्र होइन, सरकारी प्रणालीमा प्रभाव जमाएर लाभ लिन खोज्ने कर्पोरेट क्षेत्रप्रति पनि लक्षित छ, ” उनको भनाइ थियो ।
उद्घाटन सत्रमा NBI का अध्यक्ष कुशकुमार जोशीज्यूले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै भने, “अहिलेको संकट भनेको विश्वासको संकट हो। अब हामीले अरुलाई दोष दिएर मात्र हुँदैन, सुधारको सुरुवात आफैंबाट गर्नुपर्छ। निजी क्षेत्र पारदर्शी, जवाफदेही र मानव अधिकारमैत्री बन्न तयार छ । ”
दुई वटा प्यानलमा विभिन्न क्षेत्रका वक्ताहरूको गहन छलफल तथा विश्लेषणबाट युवा पुस्तासँग निरन्तर संवाद गरी सामाजिक विश्वास पुनर्निर्माण गर्नु र आन्तरिक सुशासन सुदृढ गर्नु नै दीर्घकालीन व्यावसायिक सुरक्षा र राष्ट्रिय समृद्धिको आधार हुने निष्कर्ष निकालिएको थियो।
समापन सत्रमा निजी क्षेत्रले अब आफ्नो सुधार अभियानको सुरुवात आन्तरिक आत्मसमीक्षाबाट गर्ने, जिम्मेवार व्यावसायिक अभ्यासलाई संस्थागत संस्कार बनाउँदै B+ HR राष्ट्रिय कार्ययोजनालाई व्यवहारमा उतार्न सरकारसँग सक्रिय हातेमालो गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
धन्यवाद ज्ञापन गर्दै NBI का उपाध्यक्ष सुकुन्तलाल हिराचनले ‘व्यवसाय र मानव अधिकार’ को राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्ने जुन प्रतिबद्धता जनाइयो, त्यसलाई व्यवहारमा उतार्न NBI सधैं क्रियाशील रहने बताए ।
कार्यक्रममा NBI का पदाधिकारी तथा सदस्यहरू, यूएनडीपी, स्विस राजदूतावास, राष्ट्रिय मानव अधिकार आयोग, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, युवा उद्यमी मञ्चका प्रतिनिधिहरू सहित नागरिक समाज, प्राज्ञिक वर्ग, सञ्चारकर्मी तथा मानव अधिकार अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।
सफल समाज बिना व्यवसाय सफल बन्न सक्दैन, सफल व्यवसाय बिना समाज सफल बन्न सक्दैन भन्ने मान्यताका साथ निजी क्षेत्रका प्रमुख छाता संगठनहरूद्वारा स्थापित राष्ट्रिय व्यवसायिक पहल द्धन्द व्यवस्थापन, शान्ति स्थापना, दिगो विकाश एवं जिम्मेवार व्यवसाय तथा संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा करीब दुई दशकदेखि निरन्तर क्रियाशिल रहँदै आएको छ ।

