CLI

सेयर लगानीकर्ताको ध्यान कमजोर वित्तीय अवस्थाका कम्पनीमा, ‘सेकेन्डरी मार्केट’ मा जबरजस्ती बढाएको मूल्यमा निरन्तरता कहिलेसम्म ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा कमजोर वित्तीय अवस्था भएका कम्पनीहरुको सेयरमा आकर्षण बढेको छ । खासगरी, हालसालै आइपीओ बिक्री गरेर सूचीकृत भएका कम्पनीहरुको सेयर खरिद गर्न लगानीकर्ता झुम्मिएका छन् । लगानीकर्ताहरुले आधारभूत तथ्यांकभन्दा बढी बजारको हावा, हल्ला, र छोटो समयमै फाइदा कमाउने मनोवृत्तिमा आधारित निर्णय गरिरहेको देखिन्छ ।

बजारमा कुनै सीमित समूहको आक्रामक खरिदले पनि साना कम्पनीहरुको मूल्य सजिलै बढाइएकोले  यी सेयरहरु सर्किट लेबलमा कारोबार भएका छन् । साना कम्पनीका सेयरमा मूल्य चलखेल सजिलो पनि हुन्छ । सेयर सप्लाई कम हुन्छ । त्यसमाथि ३ वर्षसम्म संस्थापक समूहको सेयर लकइन हुन्छ ।

त्यसैले, नयाँ आइपीओ वा साना कम्पनीहरुमा चाँडै धेरै कमाइन्छ भन्ने मानसिकता छ । बजारमा कुनै पनि सेयर लगातार बढ्न थाल्यो भने धेरैले यो त अझै बढ्छ भनेर अनुमान गर्छन् । यस्तो देखासिकी कारोबारले  गर्दा यस्ता कम्पनीमा आकर्षण बढेको हो ।

पछिल्लो कारोबार दिनहरुमा कमजोर वित्तीय अवस्था रहेका कम्पनीहरुको बजार भाउ बढेको छ । सागर डिस्टिलरी, बन्दीपुर केबलकार, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोको सेयर भाउमा वृद्धि देखिएको छ । तर, यी कम्पनीहरुको वित्तीय अवस्था भने खासै राम्रो छैन ।

यद्दपि, अहिले यी कम्पनीहरुको आधारभुत पक्ष राम्रो छैन भन्दैमा आगामी दिनमा पनि नराम्रो नै रहन्छ भन्ने पनि होइन । त्यसैले केही लगानीकर्ताले लङ ट्रम सोचेर कारोबार गरेको पनि हुन् सक्छन् । तर, धेरै लगानीकर्ताले भने छोटो समयका लागि पुँजीगत लाभकै लागि कारोबार गरेको देखिन्छ । यस्तो अवस्थामा भने सबैले सचेत भएर सेयर खरिद बिक्री गर्नु उचित हुन्छ ।

वित्तीय अवस्था जस्तोसुकै भएपनि पुँजीगत लाभ लिने मनसायले लगानीकर्ताहरुले सेयर खरिद गरेको पाइन्छ ।  वित्तीय अवस्था कमजोर, नाफा कमाउने क्षमता न्यून र लाभांश क्षमता नै नभएका कम्पनीहरुतर्फ लगानीकर्ताको आकर्षण तीव्र रुपमा बढिरहेको छ । र्यासनल इन्भेष्टरका अनुसार सोच्ने हो भने यस्ता कम्पनीमा लगानीकर्ताको चासो घट्नु पर्ने हो ।  तर, बजारमा हाल भइरहेको व्यवहार उल्टो देखिन्छ ।

यस्ता सेयरहरुले बजारमा अनावश्यक उत्साह सिर्जना गरिरहेको  छ  । तर, यस्तो उत्साहमा अन्धाधुन्ध लगानी गर्नेहरुलाई भविष्यमा ठूलो जोखिम निम्तिन सक्ने सेयर बजारका विज्ञहरुको चेतावनी छ । मूल्य चलखेल, हाइप, वा अल्पकालीन दाउपेचमा आधारित वृद्धि लामो समय टिक्न नसक्ने हुँदा एक पटक ती सेयरहरु आफ्नो वास्तविक मूल्यतिर फर्किन थालेपछि ठूलो घाटा व्यहोर्नु पर्ने सम्भावना रहेको सेयर बजारका विज्ञहरु बताउँछन् ।

यस्ता अस्वाभाविक उतारचढावले पुँजीबजारमा समग्र रुपमा विश्वास कमजोर पार्ने, दीर्घकालीन लगानीकर्तालाई निरुत्साहित गर्ने र बजारको स्वाभाविक विकासमा अवरोध पुर्याउने खतरा छ । त्यसैले पछिल्ला गतिविधिलाई नियामक पक्षले गम्भीर रुपमा नियाल्नु आवश्यक देखिन्छ । र, लगानीकर्ताले समेत उत्साहभन्दा अध्ययनलाई प्राथमिकता दिनु बुद्धिमानी ठहरिनेछ ।

यता, नेपालमा धेरै लगानीकर्ता ‘आधारभूत विश्लेषण’  भन्दा पनि कति कमाइन्छ  भन्ने प्रश्नमा बढी केन्द्रित हुन्छन् । कम्पनीले नाफा कमाएको कि छैन भनेर  त्यति हेर्दैनन् । हाइपको बेलामा सेयर किन्दा भोलिपल्टै नाफा आउने सम्भावना देखिन्छ ।  यसैले जोखिम नहेरी कुद्ने प्रवृत्ति बढिरहेको धितोपत्र बोर्ड (सेबोन)का एक अधिकारीले बताए ।

जसले गर्दा लगानीकर्ताहरुको लगानी जोखिम उच्च हुने र लगानी डुब्ने समेत भएको विगतमा देखिएको ती अधिकारीको भनाई छ । कम्पनीको वास्तविकता तथा वित्तीय अवस्था अध्ययन गर्ने, सेयर बजारको अध्ययन गर्ने, सो सँग सम्वन्धित सरकारको नीति तथा कानुनी अवस्था हेरेर मात्र लगानी गर्दा जोखिम कम हुने सेबोन अधिकारीले बताए ।

साथै, नयाँ लगानीकर्ताहरुको अनुभवको कमीका कारण पनि यस्तो कम्पनीको बजार भाउ बढेको हो । पछिल्ला वर्षहरुमा बजारमा धेरै नयाँ लगानीकर्ता थपिएका छन् । उनीहरुमध्ये धेरैले सेयर मूल्य किन बढ्छ ? कम्पनीको आधारभूत क्षमता के हो ? वास्तविक जोखिम कति हो ?भनेर बुझ्न समय लिँदैनन् । साथै, सेयर बढेको मात्र देखेर लगानी गर्ने प्रवृत्तिले कमजोर कम्पनीको मूल्य ह्वात्तै बढ्न सहयोग गर्छ ।

Leave Your Comment

Related News