ललितपुरमा ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी सुरु

ललितपुर । स्वदेशी उत्पादन प्रवर्द्धन गर्न वृहत ‘स्वदेशी बजार २०२५’ प्रदर्शनी सुरु भएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई) र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा सञ्चालित मेक इन नेपाल –स्वदेशी अभियानले उद्योग विभागको सहयोग एवं समन्वयमा स्वदेशी बजार २०२५ आयोजना गरिएको हो ।

शनिबार अन्तर्राष्ट्रिय क्लब, ललितपुरमा सञ्चालन भएको सो एकदिने प्रदर्शनीले “नेपालमै बनेका उत्पादन–नेपालकै पहिचान” भन्ने अवधारणामा गुणस्तरीय नेपाली उत्पादनको प्रवर्द्धन, स्वदेशी उद्योग तथा उद्यमहरूको क्षमता अभिवृद्धि, र घरेलु उत्पादकहरूलाई बजार पहुँचमा सहयोग पुर्‍याउने उद्देश्य लिएको परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले जानकारी दिए ।

साना, मझौला तथा घरेलु उद्योगहरूको प्रवर्द्धनका लागि निःशुल्क स्टल सुविधा र सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा तीन हजार भन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ ।

प्रदर्शनीमा कृषि तथा एग्रो–प्रविधि, खाद्य तथा प्रशोधित उत्पादन, वस्त्र तथा पहिरन, हस्तकला तथा कला उद्योग, आयुर्वेदिक तथा स्वास्थ्य सेवा सम्बन्धी उत्पादन, सजावट सामग्री, चिया तथा पेय पदार्थ, र अन्य उत्पादन निर्माण सम्बन्धी उद्योगसहित करिब ४०–५० उद्योग तथा उद्यम सहभागी भएका छन्।

यसमार्फत सहभागी उद्योगहरूलाई आफ्ना उत्पादन तथा सेवाहरू सार्वजनिक रूपमा प्रदर्शन गर्ने, उपभोक्तासँग प्रत्यक्ष रूपमा संवाद एवं अन्तरक्रिया गर्ने, तथा सम्भावित खरिदकर्ता, वितरक, व्यावसायिक साझेदार र सरोकारवालाहरूसँग नेटवर्क विस्तारका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार