आयल निगम र ट्यांकर संघबीच सहमति, सुरु भयो इन्धन ढुवानी

काठमाडौं । नेपाल पेट्रोलियम ट्यांकर संघ र नेपाल आयल निगमबीच सहमति भएको छ । सात बुँदे माग राखेर आइतबारदेखि आन्दोलनमा और्लेका ट्यांकर संघ र आयल निगमबीच सोमबार सहमति भएको हो। उक्त सहमति भएसँगै संघले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार भएको वार्तामा संघमा आवद्ध ट्यांकर चालक र निगम सञ्चालक समितिबीच सहमति भएको हो । यो सहमतिअनुसार नेपाल आयल निगमको नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतको अध्यक्षतामा एउटा अध्ययन समिति गठन गरिने र यो समितिले १५ दिनभित्रमा आफ्नो प्रतिवेदन बुझाउने छ । प्रतिवेदनको आधारमा चालकहरुले उठाएको मागहरु निगमले सम्बोधन गर्ने सहमति भएको छ ।

यो सहमति भएपछि संघमा आवद्ध चालकहरुले आन्दोलन फिर्ता लिएका छन् । आन्दोलनको कार्यक्रम फिर्ता भएपछि काठमाडौं उपत्यकामा इन्धन आपूर्ति गर्न थानकोटस्थित निगमको डिपोमा इन्धन उठाउने सवारी पुगेका छन्।

शनिबार सरकारी बिदा भएकाले उक्त दिन ट्यांकरलाई इन्धनको लोड दिइएको थिएन । आइतबारदेखि ट्यांकर चालकहरु आन्दोलनमा ओर्लेका कारण इन्धनको लोड र ढुवानी पूर्ण रुपमा ठप्प भएको थियो ।

ट्यांकर चालकहरु आन्दोलनका कारण निजी लगानी पेट्रोल पम्पहरुमा इन्धनको अभाव भएको थियो। जसका कारण आइतबारदेखि नै निजी पेट्रोल पम्पमा इन्धनको अभाव सिर्जना भएको छ। चालकहरुको आन्दोलनका कारण साझा, नेपाल प्रहरी, सशत्र प्रहरी र नेपाली सेनाका पेट्रोल पम्पले मात्र इन्धन उठाएका थिए। अन्य पेट्रोल पम्पमा इन्धन नहुँदा साझा, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाले इन्धनको लोड लिएर बिक्री बितरण गरे पनि ति पम्पहरुमा उपभोक्ताहरुको ठूलो लाइन लागेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार