काठमाडौं । विश्वको अधिकांश देशका स्टक एक्सचेन्जले वैज्ञानिक गणना विधि भन्दै लागु गरेको अन्तिम १५ मिनेटको भारित औसत गणना विधिबाट नेपाल स्टक एक्स्चेन्ज (नेप्से) पछि हटेको छ ।
वैज्ञानिक गणना विधि मानिने नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले अन्तिम १५ मिनेटको भारित औसत गणना विधिलाई लामो समय निरन्तरता दिन सकेन , जसले सेयर बजारको वास्तविक तथ्याङ्क प्रस्तुत गथ्र्यो । करिब ७ महिना लागु गरेर वैज्ञानिक गणना विधि मानिने नेपाल स्टक एक्स्चेन्जले अन्तिम १५ मिनेटको भारित औसत गणना विधि सही हुँदा हुदै नेप्से पछि हटेको हो ।
गत चैत ७ गतेबाट भारित औसत गणना विधि लागु भएको थियो । यो विधि हटेसँगै अन्तिम कारोबार मूल्यकै आधारमा सूचकहरु गणना गरिएको छ । सोहि गणना अनुरुप मिडियाहरुले सूचना तथा समाचार सार्वजनिक गरेका छन् भने आम नागरिकले पनि सोहि गणनालाई मान्यता दिदै आएका छन् ।
नेप्सेले चैत ७ गतेबाट लागु गरेको २ः ४५ बजेदेखि ३ बजेसम्म कारोबार भएका सबै सेयरका भारित औसत मूल्यका आधारमा सूचक गणना हुने गरेको थियो । तर असोज ५ गते देखि उक्त विधि नेप्सेले हटायो ।
नेप्सेले आफूखुशी अन्तिम १५ मिनेटको भारित औसत गणना विधि हटाएको भने होइन । वैज्ञानिक गणना विधि रहेको हुँदा हामीले आफूखुशी उक्त विधि हटाएको होइनौं दबाब आए सँगै विधि हटाउनु परेको नेप्सेका अधिकारीहरुले बताए । शेयरको दोस्रो बजारलाई कृत्रिम भइरहेको आरोप लागेको अवस्थामा केहि राहत होस् भन्ने उद्देश्यले गणना विधि वैज्ञानिक बनाएका थियौं तर त्यसलाई हटाउनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मार्फत् दबाब आए सँगै उक्त विधि हटाउनु परेको नेप्सेका एक अधिकारीले इक्विटी नेपाललाई बताए ।
सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नै उक्त विधि हटाउन आदेश दिएसँगै हामीले हटाएका हौं, ती अधिकारीले इक्विटी नेपालसँग भने । नेप्सेको नीति नियम निर्माणको लागि आधिकारिक संस्था सेबोन भएको कारण त्यहाँबाट आएको निर्देशन पालना गर्नु हाम्रो कर्तव्य हुनेछ सोहि अनुरुप गणना विधि हटाएका हौं, अधिकारीले भने ।
अन्तिम १५ मिनेटको भारित औसत गणना विधिले सेयर बजार अर्थात् सेयर कारोबार रकम, बजार परिसूचक, नेप्से परिसूचक र सेयर समूहको तथ्यांक समेत परिवर्तन हुन्थ्यो । यसका साथै कम्पनीको सेयर मूल्यमा समेत परिवर्तन आउथ्यो । जुन वास्तविक हुन्थ्यो, जसको फाइदा लगानीकर्ताहरुलाई हुने निश्चित थियो । तर उक्त विधि लागु भए सँगै निरन्तर बजार घटेको भनि लगानीकर्ताले आरोप लगाएका थिए ।
के भन्छन् सेबोनका अधिकारी ?
सेबोनले भने वैज्ञानिक विधि भए पनि लगानीकर्ताको दबाबको कारण अन्तिम १५ मिनेटको भारित औसत गणना विधिबाट पछि हट्नु परेको जनाएको छ । अन्तिम १५ मिनेटको भारित औसत गणना विधि लागु गरे सँगै लगानीकर्ताहरुले निश्चित स्वार्थ समूहका कारण उक्त विधि लागु गरेको र निरन्तर बजार घटेको आरोप लगाएका थियो । लगानीकर्ताहरुले उक्त विधि हटाउन माग गरे सँगै नेप्से पछि हटेको हो । लगानीकर्ताको निरन्तर दबाबका कारण उक्त विधि हटाउन नेप्सेलाई निर्देशन दिएको बोर्डका एक अधिकारीले बताए । विधि लागु नहुँदा पनि आरोप र विधि हटाउँदा पनि बोर्ड माथि आरोप नै लाग्ने गरेको ती अधिकारीको भनाई छ । उक्त विधि लागु नहुँदा फाइदा लिने बानी परेका केही ठूला लगानीकर्ताले दबाब दिए सँगै बोर्ड पछि हट्नु परेको बोर्डका अधिकारीहरुको भनाई छ । लगानीकर्ताको दबाब दिए सँगै बोर्डले चलखेल रोक्न कार्यान्वयनमा ल्याएको व्यवस्था लागू नगरेर लगानीकर्तालाई सजिलो बनाइदिएको हो, ती अधिकारीले भने ।
बोर्डले नेप्सेले बनाएको विनियमावलीविपरीत परिस्थितिजन्य निर्णय भन्दै भारित औसत गणना विधि व्यवस्था रोक्न निर्देशन दिएको थियो । नेप्सेले भने उक्त विधिको लागि विनियमावली बनाएर पास गरेरै कार्यान्वयनमा ल्याएको थियो ।
समस्या देखिएर नेप्सेले उक्त विधि ल्याए पनि निरन्तरता दिन भने सकेन । उक्त विधि लागु हुनु अघि सेयर बजार बन्द हुन अघिको अन्तिम सेकेन्डमा सर्किट लगाएर मूल्य बढाउने विसङ्गति बढेको थियो । हरेक दिन जसो कुनै न कुनै कम्पनीमा लगानीकर्ताहरुले अन्तिम समयमा आएर सेयर मूल्यमा सर्किट लगाउने गर्थे । बजार घट्दो समयमा होस् या बढ्दो लयमा रहँदा यस्तो प्रवृत्ति बारम्बार दोहोरिने गरेको थियो। खास गरी यस अघि सेयर बजार बन्द हुनु अघिको अन्तिम कारोबार मूल्यलाई नै कारोबार मूल्य मानिने हुँदा उक्त समस्या देखिने गरेको थियो । नेप्सेको सिस्टमले एक दिनमा १० प्रतिशतसम्म बढ्न सक्ने र १० प्रतिशतसम्म नै घट्न दिने गरेको थियो। तर सर्किट लाउन खोज्नेले कारोबारको सुरुवाती सेकेन्डमा नै कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाउने गथ्र्यो ।
भारित औसत मूल्यमा २ः४५ बजेदेखि ३ बजेसम्म जम्मा कारोबार भएको रकम(रुपैयाँ)लाई कारोबार भएको जम्मा सेयर कित्ताले भाग गरेपछि आउने मूल्य अन्तिम मूल्य हुन्छ । यसमा हरेक सेकेन्ड सेकेन्डमा भएको कारोबारलाई छुट्टै गणना गरिन्छ । अन्तिम १५ मिनेटमा हरेक कारोबार रकमलाई जोडेर जम्मा कारोबार रुपैयाँ निकालिन्छ । त्यो बीचमा कारोबार भएको कित्ता पनि जोडिन्छ । अनि भाग गरिए पछि अन्तिम मूल्य तय हुन्छ ।

