सेयर सप्लाई बढ्यो तर माग बढेन, प्रि आइपीओको दबाबले आगामी वर्षहरुमा बजारलाई कस्तो असर पार्ला ?

काठमाडौं । पछिल्लो समय आइपीओ जारी गर्ने कम्पनीको संख्यामा तीव्र वृद्धि भएको छ । १ महिनामा मात्रै ६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आइपीओ बिक्रीका लागि अनुमति पाएका छन् । तर, जुन हिसाबले नयाँ कम्पनीहरु थपिएका छन्, त्यसैगरी नयाँ लगानीकर्ता बजारमा प्रवेश गरेका छैनन् ।

सेयर बजारमा आएको गिरावट, अस्थिर नीति, राजनितिक घटना र कम्पनीहरुको प्रतिफल दरमा देखिएको गिरावटका कारण नयाँ लगानीकर्ता बजारमा प्रवेश गर्न चाहेका छैनन् । यद्दपि, हालसम्म ७२ लाख भन्दा धेरै डिम्याट खाता खोलिएका छन् । भने मेरो सेयर खाता संख्या ६३ लाख ३४ हजार छ । तर, यी सबै खातावालाहरु दोस्रो बजारमा कारोबार गर्दैनन् ।

प्रायः खाताहरु आइपीओ भर्न मात्र प्रयोग भएका छन् । साथैसाथै, केही व्यक्तिको १ भन्दा धेरै डिम्याट खाताहरु छन् । त्यसैले डिम्याट खाता खोल्नेहरुको संख्या बढ्दैमा दोस्रो बजारमा कारोबार गर्नेहरुपनि बढेका छन् भन्न पनि मिल्दैन । यता, दोस्रो बजारमा हुने दैनिक कारोबार रकममा पनि गिरावट देखिएको छ । यसले पनि लगानीकर्ताहरुको आकर्षण कम हुँदै गएको देखाउँछ । नयाँ लगानीकर्ता नआउँदा माग पक्ष कमजोर बनेको छ ।

त्यसमाथि आइपीओ, हकप्रद सेयर र संस्थापक सेयरका कारण सप्लाई पक्ष लगातार विस्तार हुँदै गएको छ । त्यसो त, बजारमा आइपीओ, हकप्रद र संस्थापक सेयर आउनु हुँदैन भन्ने पनि होइन । तर, अहिलेको अवस्थामा बजारमा नयाँ लगानीकर्ता भने थपिएका छैनन् । यसरी सेयर सप्लाई मात्र बढ्ने हो भने आगामी दिन बजारमा थप दबाब पर्ने जानकारहरु बताउँछन् ।

बजारमा सक्रिय लगानीकर्ताको संख्या सीमित रहेको र तीमध्ये अधिकांश आइपीओमा मात्र केन्द्रित रहेको अवस्था छ । आइपीओमा अत्यधिक आवेदन पर्नु बजार सबल भएको संकेत होइन । किनकि, नेपालमा अधिकांश लगानीकर्ताहरुले आइपीओ मात्र भर्छन । तर, दोस्रो बजारमा सक्रिय रुपमा कारोबार गर्दैनन् ।

जब आइपीओ सूचीकृत हुन्छ, त्यही सीमित लगानीकर्ताले पुनः खरिद गर्नुपर्ने अवस्था आउँछ । र, आइपीओ बिक्री गर्नेहरुले बजारबाट पैसा झिकेर लैजान्छन् । सानो-सानो पुँजी गरेर अरबौं रकम बजारबाट बाहिरिन्छ । र, त्यो पैसा पुनः मार्केटमा नजाने सम्भावना धेरै नै रहन्छ ।
यसैबीच, पछिल्ला वर्षहरुमा प्रि–आइपीओको प्रवृत्ति तीव्र रुपमा बढेको छ ।

प्रि–आइपीओमार्फत पुँजी संकलन गर्ने कम्पनीहरु बढ्दै गएसँगै भविष्यमा बजारमा ठूलो मात्रामा सेयर आपूर्ति हुने संकेत देखिएको छ । प्रिआइपीओमा लगानी गर्ने अधिकांस सर्वसाधारण नै हुन् । जसले सूचीकृत भएपछि सेयर बिक्री गर्ने मनस्थितिमा लगानी गरेका छन्  ।

संस्थापक सेयरमा ३ वर्षको लकइन अवधि रहने भएकाले उक्त अवधि सकिएपछि एकैपटक ठूलो परिमाणमा सेयर बिक्रीमा आउने जोखिम उच्च रहेको जानकारहरुको भनाइ छ । “३ वर्षपछि एकैचोटि त्यति धैरै सेयर बजारमा आउँदा त्यसको असर मूल्यमा नपर्ने सम्भावना हुँदैन,” एक विश्लेषकले बताए ।

अर्कोतर्फ, हाल आइपीओ पाइपलाइनमा रहेका अधिकांश कम्पनीहरुले पहिला नै प्रि आइपीओ मार्फत संस्थापक सेयर बिक्री गरिसकेको अवस्था छ । यसले आगामी केही वर्षमा बजारमा थप सप्लाई थपिने निश्चित देखिएको लगानीकर्ताहरुको आकलन छ ।

यही समयमा गैरआवासीय नेपाली (एनआरएन) र विदेशी लगानीकर्ता भित्र्याउने विषय अझै पनि कागजमै सीमित छ । नीति, कानुन र प्रविधिगत तयारी नहुँदा ठूला लगानीकर्ता दीर्घकालीन पुँजी बजारमा प्रवेश गर्न सकेको छैन । नयाँ लगानीकर्ता नआउँदा पुरानैले बढ्दो सप्लाई धान्नुपर्ने अवस्था सिर्जना भएको छ ।

यता, संस्थागत लगानीकर्ताप्रति पनि नीतिगत स्पष्टता नदेखिएको गुनासो कायमै छ । संस्थागत लगानीकर्ताले सेयर बिक्री गर्दा बजारमा असर पर्छ भनेर उनीहरुलाई कारोबार गर्न नदिने मानसिकता रहेको आरोप छ । यस्तो वातावरणमा संस्थागत लगानीकर्ताले बजारमा प्रवेश गर्न चाहँदैनन् । यस्तो हुँदा बजारमा माग शृजना हुँदैन ।

धितोपत्र बोर्डले बजारको अवस्था र माग आपूर्ति सन्तुलनलाई पर्याप्त ध्यान नदिई आइपीओ, हकप्रद सेयर र अन्य प्राथमिक निष्कासनलाई निरन्तर अनुमति दिँदै आएको आरोप पनि लगानीकर्ताहरुले लगाएका छन् । प्राथमिक बजार मात्र सक्रिय र दोस्रो बजार कमजोर रहने यो संरचनाले बजारलाई थप अस्थिर बनाएको उनीहरुको निष्कर्ष छ ।

लगानीकर्ताहरुका अनुसार अब सेयर बजारलाई दीर्घकालीन रुपमा स्थिर बनाउन सप्लाई व्यवस्थापनसँगै माग सिर्जनामा केन्द्रित नीति आवश्यक छ । एनआरएन र विदेशी लगानीकर्तालाई व्यवहारिक रुपमा सहभागी गराउने, संस्थागत लगानीकर्तालाई स्वतन्त्र कारोबारको वातावरण दिने, प्रि–आइपीओ र संस्थापक सेयरको दीर्घकालीन असरको मूल्यांकन गर्ने स्पष्ट रणनीति नबनेसम्म नेपालको सेयर बजारमा दबाब कायमै रहने सेयर बजारका जानारहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार