७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत सात वटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

साधारणसभा प्रयोजनका लागि बुक क्लोज गर्ने मिति नजिकिएकाले आजसम्म नेप्सेमा सेयर किनबेच गरी कायम भएका सेयरधनीले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन्।

आजसम्म कायम सेयरधनीले बुटवल पावर कम्पनी, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था, नबिल बैंक, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र आईजीआई प्रुडेन्शियल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्न सक्नेछन्।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुटवल पावर कम्पनीले भोलि अर्थात पुस १५ गते बुक क्लोज गर्दैछ भने बाँकी ६ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। भोलि तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा भएकाले आजसम्म सेयरधनी बनेकाले मात्र साधारणसभामा सहभागी हुन र लाभांश सुरक्षित गर्न सक्नेछन्।

बुटवल पावर कम्पनीले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने यसको साधारणसभा पुस २८ गते हुने छ।

सपोर्ट लघुवित्त वित्तीय संस्थाले ९.५ प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस ३० गते बोलाइएको छ।

मिथिला लघुवित्त वित्तीय संस्थाले १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसको साधारणसभा पनि पुस ३० गते हुने छ।

छिमेक लघुवित्त वित्तीय संस्थाले १२.५ प्रतिशत बोनस सेयर र १२.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस २९ गते तय गरिएको छ।

नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको साधारणसभा पुस २८ गते हुने छ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यसको साधारणसभा पुस २८ गते बस्नेछ।

आईजीआई प्रुडेन्शियल इन्स्योरेन्सले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभा पुस २४ गते आयोजना हुने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार