काठमाडौं । सालपा विकास बैंक लिमिटेडले बुधबार (पुस १६ गते) देखि सर्वसाधारणका लागि आइपीओ मार्फत सेयर बिक्री खुला गरेको छ । बैंकले आम सर्वसाधारणलाई १०० रुपैयाँ अंकित दरमा १४ लाख ३९ हजार १७९ कित्ता सेयर बिक्री खुला गरेको हो । सालपालाई नेपाल धितोपत्र बोर्डले जारी पुँजी ५२ करोड २३ लाख ८८ हजारको ३३% अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको १७ लाख २३ हजार ८८० कित्ता सेयर बिक्रीका लागि अनुमति दिएको हो ।
जसमध्ये, १ लाख ७२ हजार ३८८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुलाई बिक्री गरेको सेयर बाँडफाँट गरिसकेको छ । यता, ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोष, २६ हजार ११९ कित्ता साधारण सेयर कम्पनीका कर्मचारीका लागि छुट्याएको छ ।
बाँकी १४ लाख ३९ हजार १७९ कित्ता साधारण सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो । यसमा पुस २० गतेसम्म आवेदन दिने सकिनेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यस आइपीओको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
कस्तो छ रेटिङको अवस्था ?
बैंकले “IRN B (Is) ” प्रमाणपत्र प्राप्त गरेको छ । यस रेटिङ्गले “समयमै वित्तीय दायित्व भूक्तानीका सन्दर्भमा उच्च स्तरको जोखिम रहेको बुझिन्छ ।

कति कित्ताका लागि दिने आवेदन ?
सालपा विकास बैंकको आइपीओ न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।
बैंक सम्बन्धी विवरण
सालपा विकास बैंक लिमिटेडको रजिष्टर्ड (केन्द्रीय) कार्यालय खोटङ जिल्ला, दिक्तेल नगरपालिका वडा नं. २ मा रहेको छ । कम्पनी ऐन, २०६३, बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अन्तर्ग स्थापित भएको हो । यस विकास बैंकको कारोबार गर्ने मुख्य स्थान खोटाङ्ग जिल्ला, दिक्तेल १ मा रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी गरिएको निर्देशनको अधिनमा रहि आवश्यकता अनुसार भविष्यमा बैंकले शाखा उपशाखा वा अन्य कार्यालय खोली देशका अन्य भागमा पनि वित्तीय कारोबार विस्तार गर्दै जाने लक्ष्य लिएको छ । यसले बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ (तत्कालिन २०६३) अनुसार “ख” वर्गको वित्तीय संस्थाको रुपमा वित्तीय कारोवार गर्ने गरि नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त गरेको हो ।
शाखाहरु:

विकास बैंकको मुख्य उद्देश्यः
यस विकास बैंकले निक्षेपकर्ताको हक हितको संरक्षण र सम्वद्र्धन गर्दै स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो वित्तीय मध्यस्थता सेवा उपलब्ध गराउने उद्देश्य लिएको छ ।
त्यस्तै, कृषि, उद्योग, सेवा, व्यापार तथा अन्य व्यवसायिक रुपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, विस्तार र क्षमता एवम उत्पादकत्व वृद्धिका लागि आवश्यक वित्तीय साधन आन्तरिक तथा बाह्य स्रोतबाट जुटाई देशको औद्योगिक, व्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशीलता ल्याउन सहयोग पुर्याउने पनि उद्देश्य लिएको छ ।
साथै, उपलब्ध शीप, श्रम तथा पुँजीलाई उचित रूपमा परिचालन गरि ग्रामीण शहरी क्षेत्रमा उत्पादन एवम रोजगारी मूलक व्यवसायको स्थापना, सञ्चालन, विकास, विस्तार एवम्प्रवद्र्धन गर्ने र सो कार्यको लागि आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलव्ध गराई गरीबी निवारणका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुर्याउने लगायतका उद्देध्य छन् ।
पुँजी संरचना र वित्तीय प्रक्षेपण
कम्पनीको अधिकृत पुँजी ८० करोड रुपैयाँ रहेको छ । यसको जारी पुँजी भने ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ छ । कम्पनीको हालको चुक्ता पुँजी ३५ करोड रुपैयाँ रहेको छ । आइपीओ निष्कासनपछि संस्थापक सेयरधनीको हिस्सा ६७ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ३३ प्रतिशत रहनेछ ।
कम्पनीले आर्थिक वर्ष २०८४–८५ सम्म चुक्ता पुँजी १ अर्ब २० करोड पुर्याउने योजना बनाएको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म बैंकले २ करोड २ लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै, २०८३—८४ मा ५ करोड ८० लाख रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ ।
यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ४.२२ रुपैयाँ पुग्ने प्रक्षेपण छ । चालु आवमा बैंकको सञ्चित नाफा ६६ लाख ५१ हजार पुग्ने अनुमान छ ।
यता, गत वर्षसम्मको रिपोर्ट अनुसार कम्पनीको प्रतिसेयर आम्दानी २.२४ रुपैयाँ थियो भने प्रतिसेयर नेटवर्थ १०५.१४ रुपैयाँ देखिएको छ । यस अवधिसम्म बैंकको जगेडा कोषमा २ करोड ७० लाख रुपैयाँ छ ।

आइपीओ जारी गर्नुको उद्देश्य:
नेपाल राष्ट्र निर्देशन बमोजिम न्युनतम पुँजी व्यवस्था गर्न अनिवार्य भएकोले उक्त निर्देशनको अनुपालना गर्नका लागि बैंकले सेयर बिक्री गर्न लागेको जनाएको छ । सालपाले सेयर जारी गरेर सञ्चालनमा सर्वसाधारणहरुलाई समेत संलग्न गराउन, प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएका उद्देश्यहरु अनुरुप गर्नु पर्ने कार्यहरुको लागि आवश्यक पुँजी संकलन गर्न र आफ्नो सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवं आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पुँजीको व्यवस्था गर्नका लागि आइपीओ जारी गरिएको हो ।

