ठूला सहर केन्द्रीत बसाइसराइ निरुत्साहन र सेटलाइट सहरमा सुविधा वृद्धि अवको आवश्यकताः मेयर बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले सन २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन्। ब्राजिलको साओ पाउलोमा हिजोबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका प्रमुख शाहले आज भएको ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा यस्तो धारणा राखेका हुन्।

‘हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् ।’ शाहले भने, ‘ठूला सहर केन्द्रीत बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरुमा ठूला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ । फरक प्रकृतिको भौगोलिक अवस्थितिमा सहरी नीतिमा महानगरहरुले यस विषयलाई सम्बोधन गर्नुपर्छ ।’

‘बसाइँसराइले सहरी चाप बढ्ने मात्र होइन । गाउँठाउँका मौलिक संस्कृति पनि नासिन्छन् । भाषा पनि नासिन्छ । ग्रामीण जीवनसँग जोडिएका विविध आयाम जोगाउन पनि यस्ता नीतिको खाँचो छ,’ उनको भनाइ छ ।

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन्। मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो ।

प्रमुख शाहलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, स्वकीय सचिव भूपदेव शाह, सचिवालय सदस्य धिरज जोशी र नविन भण्डारीले त्रिभुवन विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गरेका थिए।

सहरी आवास र भवनहरुको विषय निर्देशक बोर्डमा छलफलको मुख्य विषय रहेको छ । सहरमा आवासका चुनौतीलाई सामना गर्न, सभ्य र सहज आवाससँग सम्बन्धित विषयमा छलफल गरेर निर्देशक बोर्डले निष्कर्ष निकाल्नेछ । बैठकमा प्रमुख शाहले सम्बोधन गर्नेछन्। प्रमुख शाहले प्यानलिष्टका रुपमा धारणा प्रस्तुत गर्नेछन्।

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पर्याप्त पूर्वाधार, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोणका विषयमा केन्द्रीत रहेर नीति वहस हुनेछ ।

नीति बहसले विश्वभरका प्रमुख सहरहरूका प्रमुख सरोकारवालाहरू, अन्तररराष्ट्रिय संस्था र वित्तीय संस्थालाई एकै ठाउँमा स्थानीय चुनौती समाधान गर्न अन्तरदृष्टि आदानप्रदान गर्ने र लगानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

उपयोग नीतिका आधारमा नविन आवास र भूमि व्यवस्थापनमा महानगरहरुका ज्ञान आदान प्रदान गर्न विश्वका प्रमुख सहरहरूबाट राजनीतिक नेताहरूलाई एकै ठाउँमा ल्याएर सञ्जाल निर्माण गर्नु, सभ्य, मितव्ययी सहरी आवास सुनिश्चित गर्न साओ पाउलोले गरेका प्रयास अवलोकन हुनेछ ।

बैठकले विश्व परिवेशका भिन्न भिन्न स्थानीय अनुभव, प्रयास र नतिजा तथा प्रमाणमा आधारित समाधान दिनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार