काठमाडौं । राष्ट्र बैंकले आइतबार ऋणपत्र जारी गरेर एक वर्षका लागि २५ अर्ब रुपैयाँ अधिक तरलता खुला बजारबाट खिचेको छ । राष्ट्र बैंकले वित्तीय क्षेत्रमा विद्यमान अधिक तरलताको दीर्घकालीन व्यवस्थापनका लागि ‘राष्ट्र बैंक ऋणपत्र’ उपकरण प्रयोग ल्याएको हो । उक्त ऋणपत्र लामो अवधि (एक वर्षभन्दा बढी) का लागि बजारबाट पैसा झिक्न राष्ट्र बैंकले प्रयोगमा ल्याउने मौद्रिक उपकरण हो ।
राष्ट्र बैंकले पछिल्लो समय ऋणपत्र निरन्तर जारी गरेको देखिन्छ । राष्ट्र बैंकले पछिल्लो समय वित्तीय क्षेत्रमा विद्यमान अधिक तरलता व्यवस्थापनको लागि ऋणपत्र जारी गरेको हो । सोही क्रममा राष्ट्र बैंकले पुस १४ मा ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ २५ अर्ब, पुस १६ मा ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ २५ अर्ब र पुस २० मा ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ पनि २५ अर्ब जारी गरेको हो । कुल ७५ अर्बको ऋणपत्र जारी गरेकोमा २ खर्ब २५ अर्ब ५५ करोडको लागि आवेदन परेको राष्ट्र बैंकले जनाएको छ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ का लागि ३२ वटा बैंक तथा वित्तीय संस्थाले १२९ वटा बोलकबोलमार्फत १ खर्ब २० अर्ब ५५ करोड रुपैयाँको प्रस्ताव पेस गरे । यसको औसत ब्याजदर (कुपन रेट) २ दशमलव ६४ प्रतिशत कायम भएको छ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ का लागि २८ वटा बैंक तथा वित्तीय संस्थाले ९८ वटा बोलकबोलमार्फत ५१ अर्ब ५ करोड रुपैयाँको प्रस्ताव पेस गरे । यसको औसत ब्याजदर (कुपन रेट) २ दशमलव ६७ प्रतिशत कायम भएको छ ।
‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ग’ का लागि २३ वटा बैंक तथा वित्तीय संस्थाले ७८ वटा बोलकबोलमार्फत ५३ अर्ब ९५ करोड रुपैयाँको प्रस्ताव पेस गरे । यसको औसत ब्याजदर (कुपन रेट) २ दशमलव ६७ प्रतिशत कायम भएका छ ।
बजारमा अधिक तरलता भए पश्चयात राष्ट्र बैंकले १० वर्ष पछि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ क’ ऋणपत्र जारी गरेको हो । यसअघि राष्ट्र बैंकले २०७२/७३ मा ४९ अर्ब ०८ करोड रुपैयाँको ऋणपत्र जारी गरेको थियो । राष्ट्र बैंकले आर्थिक वर्ष २०५०/५१ मा ६५ अर्ब ७२ करोड, आर्थिक वर्ष २०५१/५२ मा ४५ अर्ब ७४ करोड र आर्थिक वर्ष २०५२÷५३ मा ९ अर्ब ३७ करोड रुपैयाँ बजारबाट झिकेको थियो ।
राष्ट्र बैंक ऐनअन्तर्गत बनेको खुला बजार कारोबार सम्बन्धी कार्यविधिले बढीमा एक वर्षका लागि ऋणपत्र जारी गर्न सक्ने व्यवस्था गरेको छ। यसै अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको अधिक रकम तान्न अर्बौं बराबरको ऋणपत्र जारी गरेको हो । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउँछन्। यसको ब्याजदर बैंकहरूको बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने छ।
करिब तीन वर्षदेखि वित्तीय प्रणालीमा ऋण दिन मिल्ने रकम (अधिक तरलता) थुप्रिएको छ । वित्तीय प्रणालीको तरलता व्यवस्थापनकै लागि राष्ट्र बैंकले नियमित रूपमा साताको दुई दिन (आइतबार र बुधबार) आवश्यकताअनुसार बजारबाट पैसा झिक्दै आएको छ । यसका लागि राष्ट्र बैंकले निक्षेप संकलन र स्थायी निक्षेप सुविधा (एसडीएफ) उपकरण प्रयोग गर्दै आएको छ । यसअनुसार निक्षेप सुविधामार्फत राष्ट्र बैंकले छोटो अवधिदेखि ६ महिनासम्मका लागि बजारबाट पैसा झिक्ने गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा करिब साढे ११ खर्ब रुपैयाँ भन्दा बढी ऋण दिन मिल्ने रकम (अधिक तरतला) थुप्रिएको थियो ।


